खेलकुद भवनको छाना भत्किँदा सात जनाको मृत्यु

काठमाडौं । उत्तरी थाइल्याण्डमा विद्यालयको खेलकुद भवनको छाना भत्किँदा सात जनाको मृत्यु हुनाका साथै अन्य २३ जना घाइते भएका छन् । थाई सरकारका प्रवक्ताले मङ्गलबार विज्ञप्तिमार्फत सो घटनाको जानकारी दिएको छ ।

दुर्घटना बेलुका करिब ७ बजे भएको थियो । स्थानीय समय अनुसार सोमबार फिचित प्रान्तको एक प्राथमिक विद्यालयको खेलकुद भवनको छाना भारी वर्षाका कारण भत्किएको विपद् रोकथाम तथा न्यूनीकरण विभागले जनाएको छ ।

प्रधानमन्त्री प्रयुत चान–ओ–चाले दुर्घटनामा परी ज्यान गुमाएका परिवारप्रति समवेदना प्रकट गर्दै बेपत्ताको खोजी कार्यलाई प्राथमिकतामा राख्न, क्षतिको विवरण सङ्कलन गर्न र पीडितलाई तत्काल राहत उपलब्ध गराउन सम्बन्धित निकायलाई निर्देशन दिए ।

स्थानीय सञ्चार माध्यमहरूले आँधीले भवनको धातुको छानामा क्षति पुर्‍याउदा सम्पूर्ण संरचना भत्किएको उल्लेख गरेका छन् । छानो खसेपछि विद्यार्थी, अभिभावक र विद्यालयका कर्मचारीहरू भग्नावशेषमा फसेका थिए ।

फिचिटका गभर्नर पायोन असवापिचायोनले मङ्गलबार प्रभावित स्थलको भ्रमण गर्नु भएको छ । त्यहाँ कम्तीमा १०० स्थानीय घरपरिवारले आँधीका कारण भएको क्षति र थप मूल्याङ्कन भइरहेको जानकारी उपलब्ध गराएका छन् । विद्यालय र अन्य प्रभावित क्षेत्रलाई सार्वजनिक प्रकोपग्रस्त क्षेत्र घोषणा गरिएको छ । सोमबारदेखि वर्षायाम शुरु भएसँगै थाइल्याण्डको मौसम विभागले देशका अधिकांश भूभागमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । (एजेन्सी)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर