अवैध संरचना हटाउँदै काठमाडौं महानगर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सिंहदरबार अगाडि रहेका अवैध संरचना र अव्यवस्थितरूपमा फालिएका फोहरमैला हटाएको छ ।

राष्ट्रिय वाणिज्य बैंकदेखि नेपाल टेलिकम केन्द्रीय कार्यालय वरिपरिका अवैध संरचना तथा अव्यवस्थित फोहरमैला हटाएको हो । महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले तीन दिन अगाडिदेखि भवन वरिपरिका अव्यवस्थित फोहरमैला हटाउन माइकिङ गरेको र आज महानगरले विशेष सरसफाइ अभियान सञ्चालन गरेको जानकारी दिए ।

“सिंहदरबार अगाडिका अवैध संरचना तथा अव्यवस्थित फोहरमैला हटाएका छौँ । आफ्नो घर, कार्यालय अगाडि सरसफाइ गरिदिनुहुनका लागि महानगरले अनुरोध गर्दै आएको छ । महानगरलाई स्वच्छ, सफा बनाउन सम्पूर्ण व्यक्ति जिम्मेवार हुनुपर्दछ”, उनले भने ।

सरकारी कार्यालयअगाडि अवैध संरचना तथा अव्यवस्थित फोहरमैला राखेमा जरिवाना गर्नुपर्ने विषयमा छलफल भइरहेको उनले बताए । सिंहदरबारको पश्चिमगेट अगाडि पुल मुनि रहेका रेष्टुराँलगायतले निर्माण गरेका अवैध संरचना हटाइएको हो ।

महानगरले टुकुचा खोला वरपर सफा गर्नुका साथै शौचालयलगायतका संरचना हटाएको छ । महानगरले विभिन्न ठाउँमा प्रत्येक दिन विशेष सरसफाइ अभियान सञ्चालन गर्दै आएको बताउँदै उनले आगामी शनिबार वृक्षरोपण गरिने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर