नेपाल–अमेरिका व्यापारलाई निरन्तरता दिन आग्रह

काठमाडौं । नेपाल र अमेरिकाबीच व्यापार एवं लगानीसम्बन्धी सम्झौतालाई निरन्तरता दिन आग्रह गरिएको छ । नेपाल र संयुक्त राज्य अमेरिकाबीचको व्यापार तथा लगानी कार्य ढाँचा सम्झौताअन्तर्गतको व्यापार तथा लगानी परिषद् (टिफा काउन्सिल) को काठमाडौँमा सम्पन्न छैटौँ बैठकले त्यसलाई निरन्तरता दिने छलफल गरेको छ ।

नेपालको उत्पादनलाई जोड्ने गरी लगानी सहायता परिचालन गर्न छलफलले जोड दिएको बताइएको छ । नेपालबाट निर्यात सम्भावना भएका वस्तु थप गर्ने, उत्पादन क्षमता र निर्यात प्रवर्धनमा प्राविधिक सहायता परिचालन गर्ने विषयमा जोड दिइएको छ । बैठकमा नेपालले अमेरिकासँग व्यापारमा पाउँदै आएको सुविधालाई निरन्तरता दिन आग्रहसमेत गरिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । विभिन्न ७७ वटा वस्तुको निर्यातमा अमेरिकाले दिँदै आएको ड्युटी फ्रीको सुविधालाई निरन्तरता दिन मन्त्रालयले आग्रह गरेको छ ।

आगामी सन् २०२५ सम्म नेपालले ७७ वस्तु निर्यातमा छुटको सुविधा पाएको छ । २०७२ सालमा गएको विनाशकारी भूकम्पपछि सहुलियतका लागि भन्दै नेपालबाट आयात हुने थप वस्तुमा अमेरिकाले भन्सार सुविधा दिएको थियो । बैठकमा व्यापार तथा लगानी कार्यढाँचा सम्झौताले समेटेका द्विपक्षीय व्यापार र लगानीसँग सम्बन्धित लगानीमैत्री वातावरण, डिजिटल अर्थतन्त्र, बौद्धिक सम्पत्ति संरक्षण र कार्यान्वयन गर्ने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर