“सिन्दूर पुछेर बनाइने त्यस्तो राष्ट्रिय परिचयपत्र फाल्दिए हुन्छ”

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको संस्कृति र सभ्यतामाथि विभिन्न ढंगले आक्रमण भइरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । राष्ट्रिय परिचयपत्र लिँदा महिलाको सिन्दूर पुछ्ने र पुरुषको टोपी खोल्न लगाउने गरिएको भन्दै उनले आपत्ति जनाए ।

एमालेको भ्रातृसंगठन अनेरास्ववियुको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै ओलीले कसैको पनि सांस्कृतिक पहिचान मेट्न खोज्नु अपराध हुने उल्लेख गरे ।

अध्यक्ष ओलीले भने, ‘राष्ट्रिय परिचयपत्र लिँदा सिन्दूर पुछ्नुपर्ने, पोते निकाल्नुपर्ने हुँदो रहेछ। त्यहाँ पानी पनि राखिदिएको हुन्छ, रुमाल राखिएको हुन्छ पुछ्नलाई। विवाहित महिलाको सिन्दूर पुछ्ने अधिकार कसले दियो ? सिन्दूर पुछेर बनाइने त्यस्तो परिचयपत्र फाल्दिए हुन्छ । पुरुषले पनि टोपी खोल्नुपर्ने रे । टाई लाउनुपर्ने हो कि ? अरूका जे कुरा छन् त्यसको नक्कल गर्नुपर्ने कुनै आवश्यकता छैन । भारतका पञ्जाबीले कतै पनि फेटा खोल्नु पर्दैन । जहाँ पनि लगाउन सक्छन् । टोपी पनि हाम्रो पहिचान हो । टोपी लगाउँदा किन मान्यता नपाउने ? कसैलाई लाग्दैन भने नलगाओस्, तर मन लाग्नेले लगाउन पाउनुपर्छ । कुन धर्ममा सिन्दूर लगाइँदैन त्यही हामीले पछ्याउनुपर्ने ? हाम्रोमा श्रीमान् वरण गर्दा सिन्दूर लगाइन्छ । श्रीमान् मर्दा सिन्दूर पुछिन्छ । पुछिनुको अर्थ विधवा हुनु हो । श्रीमान् हुँदासम्म पोते निकालिँदैन, चुरा फुटाइँदैन, सिन्दूर पुछिँदैन । कसका निर्देशनमा बनाइन्छ कानून ? पोते किन खोल्नुपर्‍यो ? लगाएको सिन्दूर किन पखाल्नुपर्‍यो ? सिन्दूरसहित हुँदा के खराबी हुन्छ ? परिचयपत्र होस कि नागरिकता होस । जे सुकै भए पनि त्यसमा परिपूर्ण कुराहरू हुनुपर्छ । नजानिँदो गरी हाम्रो संस्कृति र सभ्यतामाथि हमला भइरहेको छ । हाम्रो परम्पराका सुन्दर कुराहरूमा, पहिचान र परिचयमा हमला भइरहेको छ । सांस्कृतिक पहिचान मेट्न खोज्नु अपराध हो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर