मिथिलाञ्चलका बटसावित्री पर्व मनाइँदै

काठमाडौं । मिथिलाञ्चलका आज महिलाले बरसाइत (बटसावित्री) पर्व मनाउँदै छन् । जेठ कृष्णपक्ष अमावश्याका दिन मनाइने बरसाइत पर्व नवविवाहिता र अन्य महिलाले फरक विधिअनुसार मनाउने चलन छ । नवविवाहिता महिलाले पहिलो वरसाइत (बिहेपछि आउने पहिलो पर्व) अनिवार्यरुपमा ससुराल (श्रीमान्को घर) मै मनाउनुपर्छ । बिहीबार नहायखाय (स्नान गरी सात्विक भोजन) गरेपछि लुगादेखि चुरासम्मका सबै शृङ्गार र पहिरनका सामग्री माइतबाटै पठाइन्छ ।

आज बिहानै नुहाइ रातो, पहेँलोसहित विभिन्न रङको पहिरनमा नजिकको वरको रुखमुनि बसेर नवविवाहितले आफ्ना पतिका साथ पूजा गर्दैछन् । उपलब्ध भए वर र पीपल दुवैसँगै भएको ठाउँमा वा नभए वरको रुखमुनि पिपलको हाँगा गाडेर भए पनि वर र पिपल दुवैको उपस्थितिमा पति पत्नी मिलेर पूजा गर्ने चलन छ ।

पति र पत्नीले पूजा गरिरहँदा पत्नीको भाइ छाता ओढाएर साक्षीको रुपमा उभिन्छन् । महिला पुरोहितले पर्वको मन्त्र उच्चारण गरी वरको जरामा पूजा गर्छन् । अंकुरी ९पानीमा भिजाएर उमारिएको चना, मुग र चामल, काँक्रो, केरा, स्याउ, अङ्गुर, आँप, लिची र नरिवल प्रसादको रुपमा वरको जरामा चढाएर सिन्दूरले रङ्ग्याउँछन् । प्रसाद चढाइसकेपछि बर्तालुले पतिलाई उभिन लगाएर वरको रुखमा सात फेरो पहेँलो र रातो धागोले बेर्छन् ।

आँप र कलश लिएर तीनपटक वरको रुख र पतिको परिक्रमा गर्छन् । परिक्रमा गरिरहेको बेलला बर्तालुले एकपटक वरको जरामा र अर्को पटक पतिको गोडामा जल चढाउँछन् । अग्निपुराणमा उल्लेख भएअनुसार व्रती महिला दिनभरि उपवास बसेर सावित्रीको पूजा वृक्षको मुनि बसेर गर्नुका साथसाथै अविवाहित तरुणी पनि गीत गाउँदै र लोकनाच गर्दै यस चाडलाई मनाउने गर्दथिन् ।

यस पर्वको दिनमा बिहानै विवाहित महिला उठेर नदी अथवा पोखरीमा स्नान गरी वट वृक्षमुनि सावित्रीको आराधना र अर्चना गरेर धुमधामका साथ यसलाई मनाउने गर्दछन् । विभिन्न फलफूल, अक्षता, धुप, दीपसहित विवाहित महिला गीत गाउँदै वट वृक्ष भएको ठाउँमा गएर सावित्रीको पूजा गर्दछन् । पर्वमा पार्वती, सावित्री र नागको पनि पूजा गरिन्छ । सावित्रीले मृत पति सत्यवानको पुनर्जीवनका लागि यसरी नै पूजा गरेको धार्मिक मान्यता रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर