नागरिकता विधेयक चाँडै टुंगो लाग्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नागरिकतासम्बन्धी विधेयक एक महिनाभित्रै टुङ्गो लाग्ने बताएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा प्रधानमन्त्री प्रचण्डले एक महिनाभित्रै नागरिकतासम्बन्धी विधेयकको टुङ्गो लाग्ने बताएका हुन् ।

उनले अघिल्लो प्रतिनिधिसभाकै पालामा पारित भएर राष्ट्रपतिकहाँ पुगेको नागरिकता विधेयक प्रमाणीकरण नभएर होल्ड भएर बसेको र खारेजसमेत नभएको अवस्था रहेको भन्दै उनले सोही विधेयकलाई राष्ट्रपतिमार्फत प्रमाणीकरण गराउने विषयमा पनि छलफल भइरहेको जानकारी दिए ।
उनले भने, ‘दुईवटै सम्भावना म देख्छु । त्यहाँ उपस्थित भएको सुझावको आधारको एउटा बाटो । अर्को बाटो फेरि यही सदनबाट नै, अहिलेको यो नयाँ सदनबाट त्यसको विषयमा एउटा या त सङ्कल्प प्रस्तावमार्फत् । या अरू कुनै प्रस्तावमार्फत् राष्ट्रपतिलाई त्यो विधेयकको बारेमा प्रमाणीकरण गर्न अनुरोध गर्ने बाटो एउटा हुनसक्छ । या अर्को क्याबिनेटबाट डिसिजन गरेर राष्ट्रपतिसँग अनुरोध गर्ने पनि एउटा बाटो हुनसक्छ । तर अब त्यो विधेयकलाई खारेज गरेर फेरि अर्को विधेयक ल्याउने बारेमा पनि मतहरू छन् । फेरि सदनमा अर्को विधेयक ल्याएर त्यो जिरोमा गयो । त्यसकारण जिरोमा गइसकेको विधेयकलाई, मृत भइसकेको विधेयकलाई जीवित मान्न सकिँदैन भन्ने मत पनि सदनभित्र पनि छ । सदन बाहिर पनि छ । यो विषयमा छलफल चलेको छ । प्रधानमन्त्रीको हैसियतले मेरो के कोसिस छ भने एक महिनाभित्रै यसको टुङ्गो लाग्छ ।’

उनले नयाँ विधेयक ल्याउनुपर्ने मतसमेत रहेको भन्दै विभिन्न सम्भावनाहरूमा छलफल भइरहेको चर्चा गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर