विद्युतीय सवारीसाधन आयात बढ्दै

काठमाडौं । भैरहवा भन्सार नाकाबाट नेपाल भित्रिने विद्युतीय सवारीसाधनको आयात बढेको छ ।
सरकारले पेट्रोलियम पदार्थबाट सञ्चालन हुने सवारीसाधनको आयातमा कडाइ गरेसँगै नै आकर्षण बढ्दै जाँदा विद्युतीय गाडीको आयातमा पनि वृद्धि भएको हो ।

चालु आर्थिक वर्षको चैत महिनासम्म एक हजार सात सय ५५ वटा विद्युतीय जिप, कार, भ्यान भैरहवा भन्सारबाट आयात गरिएको छ। जसबाट एक अर्ब ४१ करोड २१ लाख ९१ हजार राजस्व उठेको छ । चालु आर्थिक वर्षको पहिलो महिनामै नेपाल भरी दुई सय ११ वटा विद्युतीय गाडी भित्रिएका थिए, जसबाट सरकारले पहिलो महिनामा २१ करोड राजस्व संकलन गरेको थियो ।

भैरहवा भन्सार हुँदै नौ महिनामा आयात भएका विद्युतीय जिप, कार, भ्यान गत आर्थिक वर्षको आयातभन्दा तीन गुणा बढी रहेको भैरहवा भन्सार कार्यालयले जानकारी दिएको छ । आर्थिक वर्ष २०७८–०७९ को चैतसम्म भैरहवा भन्सार कार्यालय हुँदै पाँच सय १४ वटा विद्युतीय सवारीसाधन भित्रिएका थिए । भैरहवा भन्सार कार्यालयका सूचना अधिकारी उपेन्द्र लामिछानेले कुल एक अर्ब २८ करोड ६४ लाख ४४ हजार बराबरको विद्युतीय सवारीसाधनबाट गत वर्ष ३८ करोड ३३ लाख ६५ हजार राजस्व संकलन भएको जानकारी दिए।

नेपालमा धेरै सवारी भित्रिने भन्सार नाकामा वीरगन्ज र भैरहवा पर्छन् । “नयाँ सवारीसाधन भन्सारमा भित्रिरहन्छन् । अहिले पनि धेरै गाडी आएर बसेका छन्, त्यसमा विद्युतीय गाडी धेरै संख्यामा छन्”, लामिछानेले भन्नुभयो “गाडी ल्याउने व्यवसायीसँग बुझ्दा बैंकले ऋण सुविधा नदिएकाले भन्सारमै थन्क्याएर राख्नुपरेको बताउने गरेका छन् ।” उहाँका अनुसार नेपालमा खपत हुनेमध्ये सामान्यतया वीरगन्जबाट ६० प्रतिशत, भैरहवाबाट ३० प्रतिशत र अन्य नाकाबाट १० प्रतिशत गाडी भित्रिने गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर