आगामी जेठ ५ देखि १५ गतेसम्म मेलम्चीको पानी नआउने

काठमाडौं । आगामी जेठ ५ गतेदेखि १५ गतेसम्म १० दिन मेलम्ची खानेपानी आयोजनाले मेलम्ची सुरुङबाट पानी पथान्तरण बन्द गर्ने भएको छ। यसअघि मेलम्चीको पानी जेठ १ गतेदेखि १५ गतेसम्मलाई बन्द गरिने समाचार बाहिर आएको थियो ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेडले सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा आगामी जेठ ५ गतेदेखि १५ गतेसम्म १० दिन मेलम्चीको सुरुङबाट हुने पानी पथान्तरण बन्द हुने जानकारी दिएको हो।

काठमाडौं उपत्यका खानेपानीका प्रवक्ता प्रकाशकुमार राईले मेलम्ची खानेपानी विकास समितिले आयोजनाको अम्बाथान स्थिति हेडवक्र्समा गेट नम्बर १ र ९ तथा अडिट सुरुङमा मेकानिकल पार्टको जडानलगायत संरचनाहरुको निर्माण तथा सुधार कार्य गर्न लागेकाले सुरुङ बन्द गर्न लागेको बताए। उनले वर्षा याममा हुनसक्ने सम्भवित प्राकृतिक प्रकोपका कारण आयोजनामा थप क्षति हुन नदिन विषम परिस्थिति बाहेक १२ महिना पानी सञ्चालन गर्ने उद्देश्य मेलम्ची खानेपानी विकास समितिको रहेको बताए। उनले उक्त कार्य सम्पन्न भएपश्चात यो वर्षको वर्षा याममा पनि आयोजनाको प्रतिकूल अवस्थामा बाहेक अन्य अवस्थामा सुरुङबाट पानी पठाउने कुरामा आशावादी रहेको जानकारी दिए।

सुरुङबाट पानी पथान्तरण बन्द हुने भएसँगै काठमाडौं उपत्यका खानेपानी वितरणको तालिका पानी वितरणको दिन अवधिको अन्तर बढाएर हेरफेर गरिएको उनको भनाइ छ।
उनले खानेपानी वितरणको तालिका काठमाडौं उपत्यका खानेपानीको वेबसाइट र शाखा कार्यालयहरुको फेसबुक पेजमार्फत् प्रकाशन गरिएको जानकारी दिए। २०७९ साल मंसिरदेखि आजसम्म मेलम्ची खानेपानी आयोजनाबाट भइरहेको निरन्तर पानी आपूर्तिले काठमाडौंवासीको मुहारमा देखिएको सन्तुष्टि र खुशीलाई दिगो र बाह्रै महिना कायम राख्ने प्रयास आयोजनाले गरिरहेको उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर