भक्तपुरको एक फर्निचर कारखानामा भीषण आगलागी

भक्तपुर । भक्तपुरको एक फर्निचर एवं सोफा कारखानामा भीषण आगलागी भएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका–५, चुनदेवीस्थित एक फर्निचर तथा सोफा कारखानामा आइतबार साँझ ७ बजेदेखि भएको आगलागी नियन्त्रणको प्रयास राति ९ बजेसम्म जारी रहेको प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक प्रजित केसीले बताए ।

आगलागी के कारणले भएको र कति मूल्यबराबरको क्षति भयो भन्नेबारेमा यकिन नभएको बताउँदै केसीले आगलागी पूर्णरुपमा नियन्त्रणमा आएपछि सबै विवरण प्राप्त हुने बताए । उनले भने, “ठूलो फर्निचर कारखानामा आगलागी भएको छ, कारखाना कसको हो, के कति मूल्यबराबरको सामान क्षति भयो, आगलागीका कारण के हो भन्ने विवरण आएको छैन, सबै निकाय आगो नियन्त्रणका लागि सक्रिय छन्, पूर्णरुपमा आगो नियन्त्रणमा आएपछि प्रहरीले मुचुल्का गरेपछि मात्रै सबै विवरण आउँछ ।”
घटनास्थलमै रहेर आगलागी नियन्त्रण गर्न सक्रिय रहेका जुद्ध वारुण यन्त्र भक्तपुरका सूचना अधिकारी एवम् अग्नि नियन्त्रक विज्ञ विजयप्रसाद धौभडेलले आगो नियन्त्रणमा आएको बताए । फर्निचर काराखानामा भएको आगलागीबाट सँगैको एक घरमा सामान्य क्षति पुगे पनि मानवीय क्षति कतै नभएको र कारखानासँगैको अर्को दुईवटा घरलाई क्षति हुनबाट जोगाएको उनले बताए ।

जुद्ध वारुण यन्त्र भक्तपुरका तीन, काठमाडौं र ललितपुरका दुई गरी पाँचवटा दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनासहितको सहयोगमा आगो नियन्त्रणको प्रयास भएको उनले बताए । आइतबार साँझ अचानक हावाहुरीसहित भइरहेको वर्षाका कारणले आगलागी नियन्त्रणमा ल्याउन समस्या परेको उनको भनाइ थियो । (तस्बिरः सांकेतिक)

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर