एमालले अगाडि सार्‍यो लडाकू घोटाला काण्डको छानविन

काठमाडौं । नेकपा एमालेले शरणार्थी प्रकरणको कुनै राजनीतिक पूर्वाग्रह र दबाब बिना निष्पक्ष छानबिन गरी दोषीमाथि हदैसम्मको सजाय होस् भन्ने माग गरेको छ। बिहीबारदेखि जारी केन्द्रीय कमिटी बैठकबाट शनिबार पारित समसायिक प्रस्तावमा सो विषय समेटेको हो।

‘सोच्न पनि नसकिने यस्तो काममा एकातिर गृह मन्त्रालयकै उच्च नेतृत्व संलग्न रहनुले राज्यविरुद्धको अपराध कति संगठित रुपमा अघि बढाइएको रहेछ भन्ने भन्ने देखिन्छ भने अर्कोतिर यसबाट अन्तर्राष्ट्रिय क्षेत्रमा मुलुकको प्रतिष्ठामाथि नै गम्भीर प्रश्न खडा भएको छ’, पारित प्रस्तावमा शरणार्थी प्रकरणबारे उल्लेख छ।

एमालेले हिरासतमा राखिएका व्यक्तिहरुलाई छानबिनको दायरामा आउनसक्ने व्यक्तिसँग अवैध रुपमा भेटघाट गराउने, पैसा दिएर मुद्दा मिलाउने प्रयास गर्ने, असम्बद्ध व्यक्तिहरुको नाम लिन र आफूअनुकूल बयान गराउन दबाब दिइएको जस्ता सूचना सार्वजनिक भएको एमालेको भनाइ छ।

‘हामीले सुरुदेखि भन्दै आएको- दोषी कोही नछुटून् र निर्दोष कोही नफसुन भन्ने कुरातर्फ यो बैठक गम्भीरतापूर्वक ध्यानाकर्षण गराउन चाहन्छ’, निर्णयमा भनिएको छ, ‘राज्यका वैधानिक निकायबाट गरिने यस्ता विषयको निष्पक्ष अनुसन्धानमा हाम्रो पार्टीको तर्फबाट पूर्ण सहयोग रहने पनि स्पष्ट पार्न चाहन्छ।’

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगी गर्ने गिरोहलाई सहयोग पुर्‍याएको आरोप लागेका एमाले सचिव (हाल निलम्बित) टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। तर उनी गत २० गतेदेखि नै सम्पर्कविहीन छन्। पूर्वगृहमन्त्री बालकृष्ण खाण भने पक्राउ परेका छन्।

एमाले बैठकले लडाकू शिविर घोटाला काण्डलगायत चर्चामा आएका सबै काण्डहरुको निष्पक्षतापूर्वक छानबिन अघि बढाउन सम्बद्ध निकायसमक्ष आह्वान गरेको छ। ‘यस्ता छानबिनमा पार्टीको पूर्ण सहयोग रहने विश्वास दिलाउन चाहन्छ’, निर्णयमा भनिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर