“एमालेले संघीयता नमान्ने भन्ने हल्ला मात्र”

काठमाडौं । नेकपा एमालेले पार्टी केन्द्रीय कमिटी बैठकमा संघीयताबारे छलफल नै नभएको स्पष्ट पारेको छ।

ललितपुरस्थित च्यासलमा शनिबार पार्टी केन्द्रीय कार्यालयमा जारी पार्टीको केन्द्रीय कमिटी बैठक समापन गर्दै अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले संघीयताबारे पुनर्विचार गर्ने कुरा सोच्न पनि नसकिने प्रष्टयाएको प्रचार तथा प्रकाशन विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

बैठकमा संघीयताको विरोधमा छलफल गरिएको भन्ने बाहिर भ्रमपूर्ण हल्ला चलाइएको उल्लेख गर्दै अध्यक्ष ओलीले एमालेले त्यस्ता हल्लालाई सम्पूर्ण रुपमा खारेज गर्ने बताएको रिजालको भनाइ छ ।

ओलीले बैठकमा पार्टीको आधिकारिक निर्णय मात्रै बाहिर लैजान पार्टीका केन्द्रीय सदस्यलाई निर्देशनसमेत दिएका छन्। उपप्रमुख रिजालका अनुसार ओलीले बैठकमा आफ्नो पार्टी संविधान निर्माणको नेता पार्टी भएकाले यसका कुनै पनि पिल्लरलाई हल्लाउने वा चलाउने पक्षमा नरहेको बताएको थियो।

ओलीको भनाइ उद्धृत गर्दै प्रचार उपप्रमुख रिजालले भने, ‘‘हिजोदेखि एउटा हल्ला चलाइएको छ( नेकपा एमालेको बैठकमा संघीयताका बारेमा बहस सुरु भयो। एमालेले संघीयतामा पुनर्विचार गर्ने भयो। अब एमालेको संघीयता नमान्ने भयो भन्ने गलत हल्लाहरु चलेका छन्। यिनलाई अध्यक्ष कमरेडले सम्पूर्ण रुपमा खारेज गर्नुभएको छ।’’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर