नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान फराकिलो पार्दै नेपाल प्रहरी

काठमाडौं । नेपाल प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्ना अनुन्धानको दायरा फराकिलो पार्दै लाने भएको छ । अपत्यारिलो ढंगबाट पूर्वगृहमन्त्री, पूर्वगृहसचिवको प्रत्यक्ष संलग्नता खुलेपछि प्रहरीले अनुसन्धानको दायरा अझ फराकिलो बनाउन लागेको हो। सरकारद्वारा गठित कार्यदलले तयार पारेको प्रतिवेदन तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई बुझाइएको थियो तर सो प्रतिवेदन हालसम्म गोप्य छ।

नक्कली प्रतिवेदन तयार गर्न गृह मन्त्रालयका को–को कर्मचारी वा तत्कालीन नेतृत्व संलग्न थिए भन्नेबारे प्रहरीले सूक्ष्म अनुसन्धान गरिरहेको जनाएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख दानबहादुर कार्कीले नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका तथा अन्य व्यक्तिमाथि अनुसन्धान भइरहेको जानकारी दिए ।

नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाएर अमेरिका लैजाने गिरोहको योजना अनुरूप २०७६ वैशाखमा तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’को निर्देशनमा कार्यदल गठन भएको थियो। पूर्वसहसचिव बालकृष्ण पन्थी संयोजक तथा गणेशबहादुर केसी विज्ञ र दीपकप्रसाद न्यौपाने सदस्य सचिव रहेको कार्यदलले झापा, मोरङलगायतका जिल्लामा पुगेर तेस्रो मुलुक जान छुटेका शरणार्थीको पुनः प्रमाणीकरण गरेको थियो।

नक्कली भुटानी शरणार्थी बनी अमेरिका जान पर्खेका पीडितले ठगिएको भन्दै काठमाडौँ प्रहरीमा उजुरी दिएपछि यो प्रकरण छताछुल्ल भएर सतहमा देखिन आएको हो । जिल्ला प्रहरी परिसर काठमाडौँमा १०६ जना पीडितले २० थान उजुरी दर्ता गराएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर