जनआन्दोलन २०६२–०६३ का ज्यूँदो शहीद मुकेश कायस्थको निधन

काठमाडौं । जनआन्दोलन २०६२–०६३ मा ज्यूँदो शहीद मुकेश कायस्थको निधन भएको छ । कायस्थको उपचारको क्रममा बनेपास्थित शिर मेमोरियल अस्पतालमा बुधबार साँझ ६ः१८ बजे मृत्यु भएको हो । २०६२ चैत २७ गते बनेपाको तीन दोबाटोमा प्रहरीले चलाएको गोली लागेर बनेपा नगरपालिका–८ का १४ वर्षीय कायस्थ घाइते भएका थिए ।

२०६२ साल चैत २६ गते काभ्रेपलान्चोकको उग्रचण्डी नालाका भीमसेन दाहालको पोखरामा गोली लागेर मृत्यु भएपछि दाहालको शव जिल्लामा ल्याउने तयारी भएर आन्दोलन चर्किएको बेलामा मुकेश साथीहरूसँग आन्दोलनमा सहभागी भएका थिए । कायस्थलाई गत सोमबार सास फेर्न गाह्रो भएपछि उपचारका लागि शिर मेमोरियल अस्पताल लगिएको मुकेश कायस्थ प्रतिष्ठानका अध्यक्ष हिरा शर्मा नेपालले जानकारी दिए ।

सरकारले मुकेशको जीवन निर्वाह भत्ता भनेर वार्षिक दुई लाख ५४ हजार रुपैयाँ, मुकेशको स्वास्थ्य अवस्था हेर्नको लागि एक जना अनमीको लागि वार्षिक तीन लाख ३८ हजार रुपैयाँको व्यवस्था गरेको थियो ।

जनआन्दोलनमा घाइते भएका मुकेशको परिवारलाई सरकारले क्षतिपूर्ति बापत सुरुमा साढे नौ लाख, मह जोडीले सुरु गरेको जनआन्दोलन कोषबाट दुई लाख, विभिन्न सङ्घसंस्था र राजनीतिक संयन्त्रबाट समेत सहयोग प्राप्त भएको थियो भने पछि सरकारले पुनः साढे सात लाख दिएको थियो ।

माधव नेपाल नेतृत्वको सरकारले जीवन निर्वाह भत्ता ४ हजारबाट बढाएर मासिक १० हजार पुर्याएको थियो । झालनाथ खनाल नेतृत्वको सरकारले बैङ्कको साढे सात लाख ऋण मिनाहा गर्नुको साथै मुकेशको स्वास्थ्य अवस्था हेर्न एक जना अनमीको व्यवस्था समेत गरेको थियो । त्यस्तै बाबुराम भट्टराई नेतृत्वको सरकारले मुकेशको स्याहार सुसार गर्नका लागि मानिस राख्नका लागि मासिक ६ हजार दुई सय उपलब्ध गराएको थियो । खिलराज रेग्मी नेतृत्वको सरकारले जीवन निर्वाह भत्ता दश हजारबाट बढाएर १५ हजार गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर