पत्रकारलाई पक्राउ गर्न पत्राचार नभएको प्रेस काउन्सिलको स्पष्टोक्ति

काठमाडौं । प्रेस काउन्सिल नेपालले कुनै पनि पत्रकारलाई पक्राउ गरी कारबाही गर्न प्रहरीलाई पत्राचार नभएको प्रष्ट पारेको छ ।
विज्ञप्ति जारी गर्दै काउन्सिलले पत्रकार, सञ्चारकर्मी तथा सञ्चार माध्यमका सञ्चालकलाई पक्राउ गरी कारबाही गर्ने सम्बन्धमा नेपाल प्रहरीलाई पत्राचार नगरेको स्पष्ट पारेको हो ।
‘कुनै किसिमको भ्रममा नपर्न सम्पूर्ण सञ्चार माध्यम, आम पत्रकार र सम्वद्ध पक्षलाई यही विज्ञप्तिमार्फत् आग्रह गर्दछौं’ काउन्सिलका उपप्रशासकीय अधिकृत एवं सूचना अधिकारी रामशरण बोहराले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
काउन्सिलले नेपाल प्रहरीबाट जानकारी माग भइआएमा सूचीकरण भएका मिडियाको हकमा ‘सूचीकृत रहेको’ र दर्ता–सूचीकरण नभएको भए ‘सूचीकरण नभएको’ भनी जानकारी गराउने गरिएको भन्दै विज्ञप्तिमा पछिल्ला केही उजुरीका विषयमा पनि सोहीअनुसारको जानकारी मात्र गराइएको प्रष्ट पारिएको छ ।