मंगलबार उकालो लागेको पूँजीबजार बुधबार ओरालोतिर
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेप्से कारोबारको चौथो दिन बुधबार (आज) झिनो अंकले घटेको छ । मंगलबार दोहोरो अंकले बढेको नेप्से आज फेरि घटेको हो । आज नेप्से २.४३ अंकले घटेर एक हजार ८ सय ४१ दशमलब ९३ विन्दुमा बन्द भएको हो । मंगलबार नेप्से १०.६६ अंकले बढेर एक हजार ८ सय ४४ दशमलब ३६ विन्दुमा बन्द भएको थियो ।
नेप्से परिसूचक घटेसँगै कारोबार रकममा पनि गिरावट आएको छ । आज ५८ करोड ९१ लाख रुपैयाँ बराबरको मात्रै कारोबार भएको छ । सोमबार नेप्सेमा ७७ करोड ४७ लाख ६० हजार रुपैयाँबराबरको मात्रै कारोबार भएको थियो ।
आज कारोबार भएका ८८ कम्पनीको शेयरमूल्य बढेको छ भने ११३ कम्पनीको शेयरमूल्य घटेको छ । यसका साथै १५ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज हिमाल दोलखा हाइड्रोपावर कम्पनीको शेयरमूल्य ८.५१ प्रतिशतले बढेर प्रतिकित्ता १६४ रुपैयाँ पुगेको छ ।
नेप्सेका अनुसार एनसीसी डिबेञ्चरका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ७ प्रतिशतभन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी हिमाल दोलखा हाइड्रोपावर कम्पनीको तीन करोड ५४ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।