भारत भ्रमणमा विद्युत् बिक्री र उत्पादनका विषयमा सम्झौता हुने : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारविरुद्ध नयाँ लडाइँ सुरु भएको बताएका छन्। काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिकामा सडक तथा ग्रामीण विद्युतीकरण कार्यक्रमको मंगलबार शिलान्यास गर्दै उनले भ्रष्टाचार नियन्त्रणका लागि आफू र पार्टीलाई जनयुद्धको जस्तै साथ चाहिएको अपिल गरे ।

उनले भने, “हिजोका दिनमा तपाईंहरुले दिएको साथ आज पनि चाहिएको। यसका लागि म तपाईंहरुसँग सहयोगको अपिल गर्न चाहन्छु।”

प्रधानमन्त्रीले आफूले सरकारको नेतृत्व सम्हालेदेखि नै तीन वटा शब्दलाई बढी महत्व दिएको बताउँदै भने, “अन्यायमा परेकालाई न्याय, समानता र अधिकार चाहिन्छ। सामाजिक न्याय भनेको त्यही हो । देशमा विसङ्गति, विकृति र भ्रष्टाचारले विकराल रुप लिएको छ। जबसम्म भ्रष्टाचारलाई अन्त्य गरिँदैन नेपाली जनताले सुख र समृद्धिको दिन देख्न पाउने छैनन्।”

उनले जनता सबैको साथ र सहयोगसहितको प्रतिबद्धता भए अबका पाँच वर्षमा एउटा रेकर्ड बनाउने सकिने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले लोडसेडिङको युगबाट विद्युत् बिक्री गर्ने युगमा आएको उल्लेख गर्दै आसन्न भारत भ्रमणमा विद्युत् बिक्री र उत्पादनका विषयमा सम्झौता हुने बताए ।

“जुन(जुन प्रदेशलाई हिजोका दिनमा पछाडि पारिएको थियो, म तिनै प्रदेशमा विकास निर्माण गति दिन बढी जोड गरेको छु। म प्रधानमन्त्री भएपछि सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशलाई हिजो सामन्ती राज्यले बढी विभेदमा पार्‍यो तिनै प्रदेशमा मैले बढी ध्यान दिएको छु”, उनले भने । तत्कालीन राज्यसत्ताले गरेको अपमानजनक व्यवहार, असुविधा र विभेद र अन्यायविरुद्ध काभ्रेका जनता क्रान्तिमा होमिएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले महाभारत र खानीखोला जस्ता विकट गाउँले गणतन्त्रको घोषणापछि सबैभन्दो छिटो विकास र सुविधा पाउने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर