हरिकृष्ण कार्की सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस

काठमाडौं । संवैधानिक परिषद्ले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीको नाम सिफारिस गरेको छ । पाँच महिनादेखि पद रिक्त पदमा कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा रहेका कार्कीको नाम वरिष्ठतताको आधारमा सिफारिस गरेको हो ।

२०१५ साल साउन २० गते ओखलढुङ्गामा जन्मेका कार्की कानुन व्यवसायी, महान्यायाधिवक्ताबाट सर्वोच्च अदालतको न्यायाधीशमा २०७३ साउन १७ गते नियुक्त भएका थिए । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा उनी महान्यायाधिवक्ता थिए ।

उनले नेपाल बार एसोसिएसनको नेतृत्व गरिसकेका छन् । कार्कीले त्रिभुवन विश्वविद्यालयबाट कानुनमा स्नातकसम्मको अध्ययन गरेका छन् ।
तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले निलम्बनमा रहेकै अवस्थामा अवकाश पाएपछि २०७९ मङ्सिर २७ गतेयता प्रधानन्यायाधीश पद रिक्त थियो । नियुक्ति विवादमा राजनीतिक सहमति भएसँगै कार्कीलाई सर्वसम्मत रूपमा सिफारिस गरिएको हो । उमेर हदका कारण २०८० साउन १९ गतेसम्म उनको कार्यकाल रहने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर