आर्थिक वर्ष २०७२–७३ देखि हालसम्ममा २ सय २० गैँडा मरे

काठमाडौं । विगत आठ वर्षमा चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा गरी २ सय २० गैँडा मरेका छन् । आर्थिक वर्ष २०७२–७३ देखि हालसम्ममा ती गैँडा मरेका हुन् ।

निकुञ्जका अनुसार ६४ गैँडा बुढो भएर र भिरबाट लडेर मरेका छन् भने १९ गैँडा दलदलमा फसेर र बाढीले बगाएर मरेका हुन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार आपसमा जुधेर आठ वर्षको समयमा ५१ गैँडा मरेका छन् । यस्तै बाघको आक्रमणबाट २०, चोरी शिकारीबाट नौ, करेन्ट लागेर आठ, बिरामी तथा रोगी भएर १२, खाडलमा परी तीन, विष सेवनले पाँच तथा कारण नखुलेका २९ गैँडा रहेको उनले जानकारी दिए ।

तिवारीका अनुसार विगत आठ वर्षमा एक सय भाले र ७६ पोथी गैँडा मरेका छन् भने लिङ्ग पहिचान नभएका ४४ गैँडा मरेका छन् । आर्थिक वर्ष २०७२-७३ देखि यता निकुञ्जमा सबैभन्दा बढी गैँडा आव २०७५-७६ मा मरेको कार्यालयको तथ्याङ्कले देखाएको छ । सो आवमा ४३ गैँडा मरेका थिए । सबैभन्दा कम आव २०७२(७३ मा १४ गैँडा मरेको तिवारीले बताए । तिवारीका अनुसार आव २०७३-७४ मा २५, आव २०७४-७५ मा २६, आव २०७६-७७ मा २६, आव २०७७-७८ मा ३३ र आव २०७८(७९ मा ३७ गैँडा मरेका छन् । चालु आवको हालसम्म १६ गैँडा मृतावस्थामा भेटिएको छ ।

निकुञ्जको तथ्याङ्कअनुसार आव २०६५-६६ देखि आव २०७९-८० सम्म ३२३ गैँडा मरेका छन् । निकुञ्जमा गैँडाको सङ्ख्या बढ्दै जाँदा आपसमा जुधेर र बुढो भएर मर्नेको सङ्ख्या धेरै रहेको तिवारीले बताए । गैँडाको चरनका लागि निकुञ्जले घाँसेमैदान व्यवस्थापन र पानीको संरक्षणमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको उनले जानकारी दिए । ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर