हिमपहिरोमा परेर बेपत्ता भएका पाँचजनाको परिचय खुल्यो

काठमाडौं । दार्चुलाको व्यास गाउँपालिकाका हिमपहिरोमा परेर बेपत्ता भइरहेकामध्ये पाँचजनाको परिचय खुलेको छ ।
दार्चुलाको व्यास गाउँपालिकाका वडा नम्बर १ को भोलुम डाँडामा मङ्गलबार गएको हिमपहिरोमा परेर ६ जना बेपत्ता भएका थिए ।
दार्चुलाका जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब उपरीक्षक तर्कराज पाण्डेले हिमपहिरोमा परेका पाँच जनाको परिचय खुलेको र तर हराएकाहरूको अवस्था भने अझै अज्ञात रहेको बताए ।

परिचय खुल्नेमा दार्चुलाको दुँहु गाउँपालिका –४ की ३८ वर्षीया कमला कुँवर १८ वर्षीय प्रवीण कुँवर, डोटीको जोरायल गाउँपालिका –२ बुडरकी ४५ वर्षीया नक्की डोमा थापा, २८ वर्षीया ईश्वरी थापा र १५ वर्षीया छिमीसामो थापा रहेका छन् ।

प्रनाउ पाण्डेका अनुसार सो क्षेत्रको उच्च हिमालमा अझै हिउँ र उच्च पहाडमा पानी परिरहेकोले उद्धार गर्न कठिनाइ भएको छ । घटनास्थलबाट तीन घण्टा टाढा रहेको सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोलीले अझै खोजी कार्य जारी राखेका छन् ।
दार्चुलाको हिमपहिरोमा हराएकामध्ये दार्चुलाको नौगाडका अन्दाजी ३५ वर्षका ललित विष्टसहितको सात जनाको समूह भने मङ्गलबार साँझ नै घटनास्थलमा गएको सुरक्षाकर्मीको टोलीमा सम्पर्कमा आएको थियो । (तस्बिर ः प्रतीकात्मक)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर