हिमपहिरोमा परेकाहरूको खोजी कार्य तीव्र

काठमाडौं । दार्चुलाको व्यासमा यार्सागुम्बा टिप्न गएका ६ जना स्थानीयहरूको खोजी कार्य तीव्र पारिएको छ । दार्चुलाको भोलिङमा उनीहरू मंगलबार हिमहिरोमा परेको खबर आएपछि प्रहरी टोली घटनास्थलतर्फ गएको थियो ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार यसरी बेपत्ता हुनेहरूमा डोटीको जोरायल–२ बुडरका नक्नी डोमा थापा, क्षिभी सोमो थापा, ईश्वरी थापा तथा दार्चुला दुहु–४ का कमला कुँवर र प्रवीण कुँवर, सुर्मा–१ देवडीकी झल्लादेवी बोहोरालगायत रहेका छन् । हिम पहिरो खसेको खबर पाए लगत्तै व्यास–१ छाङरुमा रहेको नेपाल प्रहरी र सशस्त्रको संयुक्त टोलीले मङ्गलँबाररदेखि नै खोजी कार्य सुरु गरेको थियो तर राति अबेरसम्म ६ जनाको अवस्था थाहा हुन सकेको छैन ।
दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीपसिंह धामीका अनुसार पानीसहित हिमपात भएको तथा रातसमेत परेका कारण उद्धार खोजी कार्य रोकिएको थियो तर बुधबार बिहानदेखि खोजी सुरु गरिएको छ । (तस्बिरः प्रतीकात्मक)