भूमिसम्बन्धी क्रान्तिकारी निर्णय लिने सोचमा प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भूमिसम्बन्धी विद्यमान व्यवस्थामा क्रान्तिकारी निर्णय लिएर मात्रै वर्षौँदेखि थाँती रहेका समस्याको प्याकेजमा समाधान सम्भव भएको बताएका छन् ।

राष्ट्रिय भूमि आयोगका पदाधिकारीलाई बिहीबार प्रधानमन्त्रीनिवास बालुवाटारमा बोलाएर उनले भूमिसम्बन्धी समस्या समाधानका निम्ति सरकार गम्भीर रहेकाले सोहीबमोजिम कार्यसम्पादन गर्न आयोगलाई निर्देशन दिएका हुन् ।

छलफलका क्रममा प्रधानमन्त्री प्रचण्डले भने, “भूमि व्यवस्थाको दीर्घकालीन समाधान आवश्यक छ । यसपटक मैले मन्त्रिपरिषद्को बैठकबाट भूमिसम्बन्धी केही क्रान्तिकारी निर्णय लिने सोच बनाएको छु । पटक–पटक उही समस्या बल्झिएर भूमिसम्बन्धी समस्या भुवँरीमा पर्नुहुँदैन । हामीले वैज्ञानिक र दीर्घकालीन समाधान दिनुपर्छ ।”

भेटमा प्रधानमन्त्रीले सुकुमबासी, अव्यवस्थित बसोबासलगायत भूमिहीनका समस्या दीर्घकालीन रूपमा सम्बोधन गर्ने कामलाई प्राथमिकता दिन निर्देशन दिए । उनले भने “धेरै वर्षदेखि हामी एउटै समस्यामा अल्झिरहेका छौँ । अब यसलाई सदाका लागि समाधान गर्नुपर्छ ।”

गाँस र बास जनताको पहिलो आवश्यकता भएको उल्लेख गर्दै उनले भने, “नीतिगत रूपमा गर्नुपर्ने काम सरकारले गर्छ । यसपटक यो समस्या सदाका लागि सम्बोधन गर्नैपर्छ ।”

प्रधानमन्त्री प्रचण्डले बजेटको सिलिङ बढाउन पहल भइरहेको जानकारी दिँदै भने, “अर्थतन्त्र सङ्कटमुक्त भइसकेको छैन । तर पैसा छैन भन्दैमा हामीले काम गर्न र पहल लिन छोड्नु हुँदैन । जहाँ सङ्कट हुन्छ, त्यहाँ सम्भावना पनि हुन्छ ।”

अझ धेरै मेहनत गरेर अर्थतन्त्र सुधार्ने र विकासलाई तीव्रता दिनेगरी काम गर्नुपर्नेमा प्रधानमन्त्री प्रचण्डले जोड दिए । भेटमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ चौधरी, मन्त्रालयका सचिव डा. दामोदर रेग्मी, राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौला, उपाध्यक्ष नहेन्द्र खड्कालगायत आयोगका पदाधिकारीको उपस्थिति थियो


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर