प्रतिनिधिसभाको तीन रिक्त सदस्यका लागि आज उपनिर्वाचन

काठमाडौं । प्रतिनिधिसभाको रिक्त तीन क्षेत्र बारा–२, चितवन–२ र तनहुँ–१ मा उपनिर्वाचनअन्तर्गत आज (आइतबार) बिहानदेखि मतदान हुँदैछ । निर्वाचन आयोगले उपनिर्वाचन सहज, स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त रूपमा सम्पन्न गर्न सम्बद्ध राजनीतिक दल, उम्मेदवार तथा उम्मेदवारका प्रतिनिधिलाई आग्रह गरेको छ।

बारा निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि, चितवन निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित रवि लामिछाने नागरिकता प्रकरणमा कसुरदार ठहर भएपछि र तनहुँ–१ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि यी स्थानमा प्रतिनिधिसभाके सदस्य पद रिक्त भएकाले तीनवटै स्थानमा उपनिर्वाचन हुन लागेको हो।

सर्वपक्षीय बैठकको निर्णयप्रति ध्यानाकर्षण निर्वाचन आयोगले बारा जिल्लामा मतदान अधिकृतसहितको सर्वदलीय तथा सर्वपक्षीय बैठकले निर्वाचनलक्षित गरेका निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

निर्वाचन आयोगका उपसचिव कमल ज्ञवालीको हस्ताक्षरमा शनिबार जारी विज्ञप्तिमा बारा जिल्ला क्षेत्र नं। २ को देवताल गाउँपालिका वडा नं २ स्थित सिँचाइ अफिस कल्याणपुर मतदान स्थलको मतदान केन्द्र (क) र )ख) मा मतदान अधिकृतसहितको सर्वदलीय तथा सर्वपक्षीय बैठकले मतदानको समय बढाउने, अशक्त मतदाताको नाममा प्रचलित कानुनविपरीत हुने गरी अन्यले मतदान गर्न सक्ने र उम्मेदवारका मतदान प्रतिनिधि छनोट गर्नेजस्ता निर्णयप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ।

निर्वाचन आयोगले निर्वाचनसम्बन्धी प्रचलित कानुन, निर्देशिका, कार्यविधि तथा आयोगको निर्देशनविपरीतका यस्ता निर्णय बदर गरी प्रचलित कानुनबमोजिम मात्र हुने गरी प्रतिनिधि सभा सदस्य उपनिर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष गर्न आयोगले निर्देशन दिएको छ।

चितवनमा अत्यधिक गर्मीका कारण मतदातालाई सहज होस् भन्नाका लागि टेन्टको व्यवस्था गरिएको जिल्ला निर्वाचनको कार्यालयले जनाएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर