वायु प्रदूषणले १५ दिनमै कालो भयो कृत्रिम फोक्सो

काठमाडौं । स्वास्थ्य मन्त्रालयमा राखिएको कृत्रिम फोक्सो १५ दिनमै निकालिएको छ।  वायु प्रदूषणबाट १५ दिनमै फोक्सो कालो भएपछि निकालिएको हो।

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले १५ दिनमै कृत्रिम फोक्सो कालो हुनुले वायु प्रदूषणबाट मानव स्वास्थ्यमा पार्ने गम्भीर असरलाई बुझ्न सहज भएको बताए।

स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘छोटो अवधिमै फोक्सो कालो भएपछि मन्त्रालयले विश्व स्वास्थ्य दिवसको अवसरमा जडान गरिएको सो कृत्रिम फोक्सो पृथ्वी दिवसको अवसरमा त्यहाँबाट सारेर यो पन्ध्र दिनमा आएको परिवर्तनलाई तस्बिरका माध्यमले बुझाउन विभिन्न स्थानमा जनचेतनामुलक अभियानका लागि प्रयोगमा ल्याउने योजना बनाएको छ।

वायु प्रदूषणले मानव स्वास्थ्यमा पार्ने असरबारे जनचेतना जगाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विश्व स्वास्थ्य दिवसको अवसर पारेर २०७९ चैत्र का दिन हेपा फिल्टरबाट बनेको एक जोडी कृत्रिम फोक्सो मन्त्रालयको मुलद्वारमा जडान गरेको थियो।’

नेपालमा वायु प्रदूषणको मुख्य कारणमा सवारी साधनबाट निस्कने धुवाँ, धुलो, औद्योगिक कल कारखानाबाट हुने उत्सर्जन, जंगलमा लाग्ने डढेलोको साथै घर, रेष्टुरेन्ट तथा होटल व्यवसायबाट हुने उत्सर्जन र उर्जाका रुपमा काठ, दाउरा, कोइला, ब्रिकेटको आदिको प्रयोग रहेका छन्।

प्रदूषित वायुमा कार्बन मोनोअक्साइड, ओजोन, नाइट्रोजन डाइअक्साइड र सल्फर डाइअक्साइड जस्ता हानिकारक सुक्ष्म कण समेत समावेश हुन्छन्। वायु प्रदूषणले श्वासप्रश्वाससम्बन्धी स्वास्थ्य समस्याका साथै हृदयघात, मतिष्कघात, आँखा, छालासम्बन्धी रोग र क्यान्सर समेत निम्त्याउने गरेको छ। वायु प्रदूषण मृत्युको प्रमुख कारकमध्ये एक रहेको छ।

प्रदूषित वायुले सबै उमेर समूह र वर्गलाई प्रभावित गर्ने भए पनि बालबालिकाको फोक्सो विकसित भइ नसकेकाले वायु प्रदूषणले उनीहरूको फोक्सोमा बढी प्रभाव पार्छ । वायु प्रदूषणको नकारात्मक प्रभावबारे चेतना जगाउन र जनमानसमा वायु प्रदूषणबाट आफूलाई बचाउन ठोस कदम चाल्न पर्ने हुन्छ।

तत्काल यसका लागि मास्क लगाउने,अत्यधिक प्रदूषित क्षेत्रहरूबाट टाढा रहने, विद्युतीय चुलो र सवारी साधनको प्रयोग गर्ने, फोहोर नजलाउने जस्ता कार्य गर्नुपर्ने हुन्छ। दीर्घकालिन रुपमा व्यवस्थित शहरीकरण,नविकरणीय उर्जा प्रयोग, रुख बिरुवा लगाउने जस्ता कार्य गरी वायु प्रदूषण कम गर्न सकिन्छ।  स्वास्थ्य मन्त्रालयले काठमाडौंमा उच्चस्तरको प्रदूषण कायम रहेको भन्दै यसबाट जोगिन आम नागरिकलाई अपिल गरेको छ । (स्वास्थ्य खबर पत्रिकाबाट साभार)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर