सात अर्बको विद्युतीय सवारीसाधन नेपाल भित्रिए
काठमाडौ । चालु आर्थिक वर्षको नौ महिनामा विद्युतीय सवारीसाधनको आयात ६६ दशमलव ३९ प्रतिशतले बढेको छ । भन्सार विभागका अनुसार समीक्षा अवधिमा दुई हजार चार सय ५१ वटा विद्युतीय सवारीसाधन आयात भएको छ । गत आवको सोही अवधिमा एक हजार चार सय ७३ वटा विद्युतीय सवारी आयात भएका थिए ।
विभागको तथ्यांक अनुसार चैतमा मात्रै दुई सय ५३ वटा विद्युतीय सवारी नेपाल भित्रिएका छन् । गत आवको सोही अवधिमा एक सय १६ वटा मात्र विद्युतीय सवारीसाधन आयात भएको थियो । विभागका अनुसार समीक्षा अवधिमा सबैभन्दा धेरै भारतबाट आयात भएका छन् । उक्त अवधिमा भारतबाट एक सय किलोवाट क्षमताका एक हजार सात सय ५५ वटा विद्युतीय सवारी आयात भएका छन् ।
भारतपछि सबैभन्दा धेरै विद्युतीय गाडीहरु चीनबाट नेपाल भित्रिएका छन् । चीनबाट एक सय किलोवाट क्षमताका तीन सय ८१, दक्षिण कोरियाबाट एक सय किलोवाट क्षमताका दुई सय ४०, र इन्डोन]सियाबाट तीन वटा विद्युतीय सवारीसाधन आयात भएका छन् । यस्तै, दक्षिण कोरियाबाट एक सयदेखि दुई सय किलोवाट क्षमताका २० वटा, चीनबाट ४३, युकेबाट दुई वटा विद्युतीय सवारी नेपाल भित्रिएका छन् । भन्सार विभागका अनुसार चीनबाट दुई सयदेखि ३०० किलोवाट क्षमताका पाँच र बेलायतबाट दुई वटा विद्युतीय गाडी नेपाल भित्रिएका हुन् ।
समीक्षा अवधिमा भारतबाट मात्रै रु चार अर्ब ७१ करोड ९८ लाखबराबरको विद्युतीय सवारी आयात भएका छन् । पछिल्लो समय भारतबाट टाटाको विद्युतीय गाडी नेक्सन र टिगोर इभी र महिन्द्राका गाडीहरु आयात भएका छन् । यस्तै, चीनबाट समा नेटा भी, बीवाइडी, एमजी र टेस्लाका गाडीहरु आयात हुने गरेको छ ।
सात अर्बका गाडी भित्रिए
चालू आर्थिक वर्षको नौ महिनामा करिब सात अर्बबराबरका विद्युतीय सवारीसाधन नेपाल भित्रिएका छन् । भन्सार विभागका अनुसार चैत मसान्तसम्म दुई हजार ४ ;o ५१ वटा विद्युतीय सवारी आयातमा छ अर्ब ८५ करोड ७९ लाख बाहिरिएको छ ।
विद्युतीय सवारी आयातबाट सरकारले एक अर्ब ९३ करोड १३ लाख ५९ लाख राजस्व संकलन गरेको छ । गत आवको सोही अवधिमा चार अर्ब २९ करोड ६६ लाख ३१ हजारबराबरको विद्युतीय गाडी आयात भएको थियो । उक्त आयातबाट सरकारले एक अर्ब १६ करोड ५५ लाख २० हजार राजस्व संकलन गरेको थियो ।