१७ जिल्लामा वन डढेलो, वातावरण प्रदूषण उच्च

काठमाडौं । देशभर एकैदिन १७ जिल्लामा ३ सय ७९ स्थानमा डँढेलो लागेको छ । बढ्दो तापक्रम, प्रतिकूल मौसम, वनमा रहेको ज्वलनशील पदार्थको उपस्थिति तथा भौगोलिक विकटताका कारण वन डढेलो नियन्त्रण र व्यवस्थापन चुनौतीपूर्ण भएको छ ।

वन तथा भू–संरक्षण विभागले दिएको जानकारीअनुसार एकै दिन ३ सय ७९ डढेलोका घटना यस वर्षकै सबैभन्दा उच्च हो । वन डढेलोबाट निस्केको धुवाँका कारण देशभरको आकाश तुवाँलोले ढाकेको छ भने यसको वायुप्रदूषणले जनस्वास्थ्यमा समस्या देखिन थालेको छ ।

विभागको तथ्यांकअनुसार यही वैशाख १ गते २६ जिल्लाका १ सय १२, २ गते आठ जिल्लाका २८, ३ गते १२ जिल्लाका ३२, ४ गते १० जिल्लाका ६४ र वैशाख ५ गते ३३ जिल्लाका १ सय ८० स्थानमा डढेलो लागेको थियो ।

नेपालमा विशेषगरी तराई र भित्री मधेशका जिल्लामा वन डढेलो बढी लाग्ने गरेको विभागको सूचना कक्षका सहायक वन अधिकृत गोविन्दकुमार श्रेष्ठले बताए । पछिल्ला दिनमा दाङ, चितवन, अर्घाखाँची, प्युठान, सुर्खेतमा बढी वन डढेलो लागेको उनले बताए ।

वन डढेलो घटना मानवीय गतिविधिका कारण बढी हुने गरेको छ । स्थानीयले घाँसको मुना पलाउने आशमा जानाजानी आगो लगाउने गरेका छन् । डढेलो वन व्यवस्थापनको राम्रो औजार भए पनि त्यो नियन्त्रित गरिनुपर्ने आवश्यकता रहेको छ । (तस्बिर : प्रतीकात्मक)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर