सामूहिक समस्यालाई एकीकृतरूपमा समाधान गरिने : फोरम

काठमाडौं । उपत्यकामा देखिएका प्रमुख समस्याहरुको पहिचान गरी सामूहिक रूपमा समाधान गरिने भएको छ । उपत्यकाको एकीकृत विकासका लागि उपत्यकाका सबै नगरपालिकाले सामूहिक समस्यालाई पहिचान गरी समाधान गर्ने योजना बनाउने भएका हुन् ।

हाल उपत्यकाभित्र एकीकृत विकासको अभावमा सबै नगरपालिकामा अन्तरपालिका जोड्ने योजना प्रभावकारी रूपमा सञ्चालन हुनसकेको छैन ।काठमाडौँ उपत्यका नगरपालिका फोरमका अध्यक्ष एवं ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले उपत्यकाका सबै नगरपालिकाको समस्या र समाधान एउटै प्रकृतिको भएकाले साझा समस्याका बारेमा सामूहिक रुपमा समाधान गर्नेगरी योजना बनाउन लागिएको बताए । ।

उनका अनुसार काठमाडौं उपत्यकामा देखिएका फोहोरमैला व्यवस्थापन, पर्यटकीय पूर्वाधारको विकास, ट्राफिक समस्याको समाधान, खानेपानीको उपलब्धता, सांस्कृतिक सम्पदाको संरक्षण, उत्पादित कृषियोग्य जमिनको संरक्षण गर्ने योजना बनाइनेछ ।

सेवा प्रवाहको प्रकृतिलाई वर्गीकरण गरी सेवालाई क्रमिकरूपमा प्रविधिमैत्री बनाउँदै जाने, विभिन्न स्थानमा एकीकृत तरकारी बजारको व्यवस्थापन गर्ने, उपत्यकाका सबै नगरपालिकामा करको दर र दायरा फरक फरक भएकाले करको दर र दायरामा एकरूपता कायम गर्नेलगायतका सामूहिक समस्याको सामूहिक रूपमा समाधान गर्ने योजना रहेको छ ।

उपत्यका नगरपालिका फोरमका सचिव एवं टोखा नगरपालिका प्रमुख प्रकाश अधिकारीले काठमाडौँ उपत्यकाकाको दिगो विकासका लागि सामूहिक रूपमा पहल गर्ने गरी योजना बनाउन लागिएको बताए । उनले भने, “उपत्यकामा फोहोर व्यवस्थापन प्रमुख समस्या रहेको भन्दै सम्पदा संरक्षण पर्यटकीय पूर्वाधार र सामूहिक रूपमा खेलकुदको विकास गर्ने गरी एकीकृत रूपमा रणनीति बनाइने छ ।”

उपत्यकाको दिगो विकास लागि सामूहिक रूपमा अपनत्व महसुस गर्ने गरी उपत्यकाका सबै नगरपालिकाले योजना बनाउने उनको भनाइ छ । उपत्यका नगरपालिका फोरमका उपाध्यक्ष एवं सूर्यविनायक नगरपालिका प्रमुख वासुदेव थापाले सामूहिक काम गर्नका लागि नगरपालिकाको आन्तरिक स्रोतबाट सामूहिक कोष निर्माण गरेर काम गर्न सकिने बताए ।

उपत्यकाका सबै पालिकाले आ–आफ्नो भूगोलभित्र पर्ने सार्वजनिक जग्गा संरक्षण गरी सो स्थानमा सामूहिक लगानीमा आकर्षक पार्क निर्माण गर्ने, कृषि योग्य जमिनमा कृषि उत्पादन मात्र गर्ने, सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न अन्तरपालिका सहकार्य र सहयोग आदानप्रदान गर्ने गरी योजना बनाइने थापाले बताए । एक वर्षभित्र सबै योजना कार्यान्वयनमा ल्याउने गरी योजना बनाउने उपत्यका नगरपालिका फोरमले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर