बारामा उपेन्द्र यादवलाई रोक्न सिके राउत आफैँ सक्रिय

वीरगन्ज । उपचुनावको प्रचारप्रसारको अन्तिम दिन बारा क्षेत्र नम्बर २ को उपनिर्वाचन नतिजा आफ्नो पक्षमा पार्न प्रमुख प्रतिस्पर्धी शक्तिहरूले दौडधुप बढाएका छन्। बारा २ मा ३६ जनाले उम्मेदवारी दिए पनि मुख्य प्रतिस्पर्धा भने सीमित राजनीतिक दलका उम्मेदवारबीच मात्रै हुने स्थानीयवासीको आँकलन छ।

यो निर्वाचन क्षेत्रमा करिब एक लाख पाँच हजार मतदाता छन्। यस निर्वाचन क्षेत्रमा जिल्लाका पचरौता नगरपालिका, महागढीमाई नगरपालिका, करैयामाई, देवताल, सुवर्ण गाउँपालिका र कोल्हबी नगरपालिकाको वडा नम्बर ८ को भूभाग समेटिएको छ।

यादवका लागि मौका

बारा क्षेत्र नम्बर २ बाट जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, सत्तारुढ दलको साझा उम्मेदवारका रूपमा चुनावी प्रतिस्पर्धामा छन्। मङ्सिरको प्रतिनिधिसभा निर्वाचनमा उपप्रधानमन्त्री सहित पटक पटक मन्त्री भइसकेका यादव सप्तरी २ मा जनमत पार्टीका सिके राउतसँग पराजित भएका थिए।मङ्सिरको प्रतिनिधिसभा निर्वाचनमा यो क्षेत्र जसपाले जितेको थियो। जसपाका रामसहाय यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि यो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो।
“सङ्घीयता र समावेशिताको रक्षासँगै सुशासन, विकास र समृद्धिको एजेन्डाहरू लिएर म जनताको माझमा पुगिरहेको छु, जनता निक्कै उत्साहित पनि देखिएका छन्। यहाँका जनताले मलाई आत्मसात् गरिसकेका छन्,” यादवले भने, “सुरु सुरुमा विपक्षीहरूले बाहिरिया भनेर भ्रममा पार्न खोजे पनि अब त्यो भ्रम हराएको छ।”

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव सहित अधिकांश सत्ताधारी दलका यो भेगका प्रतिनिधिसभा र प्रदेशसभा सदस्य गठबन्धनका उम्मेदवार यादवको चुनावी प्रचारप्रसारमा सक्रिय छन्। यसअघिका मधेस आन्दोलनको नेतृत्व गरेका यादवलाई बारामा पनि मधेशमा नयाँ उदय भएको सिके राउतकै दलले चुनौती दिएको छ।

उम्मेदवार कुशवाहा, मैदानमा राउत

 

सिके राउतको दलले मङ्सिरमा तीन सय मतान्तरले मात्रै पराजित भएका तत्कालीन गठबन्धनको उम्मेदवार शिवचन्द्र कुशवाहालाई बाराको चुनावी मैदानमा उतारेको छ। नेकपा माओवादी केन्द्रबाट कुशवाहालाई पार्टी प्रवेश गराएर उम्मेदवार बनाएसँगै राउतले चुनावी कमान्ड पनि आफै सम्हालिरहेका छन्। मनोनयन दर्तापछि अधिकांश समय बारामै बसिरहेका राउत चुनावी प्रचार प्रसार तथा घरदैलोमा व्यस्त देखिन्छन्। चुनावी प्रचारमा भेटिएका राउतले स्थानीय उम्मेदवारको नारा अघि सारेका छन्।

“यहाँका जनताले बाहिरकाले जित्ने विगतलाई तोड्न चाहेका छन्। मतदाताले यसपालि यहाँकै धर्तीपूत्रलाई जिताएर परिवर्तन चाहेका छन्,” उनले भने। जनमतका उम्मेदवार कुशवाहाको मुद्दा पनि स्थानीय उम्मेदवारकै विषय छ। “बारामा जनताको पक्षमा जनताको हितको लागि कुनै लगानी नै नगरेका उम्मेदवारहरू बाहिरबाट आएर उम्मेदवारी दिए। म विद्यार्थी हुँदादेखि यहाँका जनताको सेवामा छु,” उनले भने।

एमालेको दाउ

 

मधेसवादी दलका दुई शीर्ष नेताबीचको रस्साकस्सीको फाइदा उठाउने दाउमा नेकपा एमाले रहेको देखिन्छ। एमालेले पोलिटब्युरो सदस्य समेत रहेका पूर्व मन्त्री पुरुषोत्तम पौडेललाई चुनावी मैदानमा अघि सारेको छ।

बारामा लामो राजनीतिक विरासत बनाएका पौडेल पनि आफू चुनाव जित्नेमा विश्वस्त रहेको बताउँछन्। “चुनावी घरदैलोमा पुगिरहँदा जनताको पूर्ण समर्थन पाएका छौँ। यस क्षेत्रमा एमाले बलियो सङ्गठन भएको पार्टी हो। यसपालि एमालेले जित्छ यसमा कुनै शङ्का छैन,” उनले भने। अघिल्लो निर्वाचनमा भने यहाँ एमालेले जसपालाई समर्थन गरेको थियो।

रमेश खरेलको प्रचार

 

बारामा राष्ट्रिय स्वतन्त्र पार्टीले मङ्सिरको निर्वाचनमा काठमाण्डू(१मा असफल भएका रमेश खरेललाई मौका दिएको छ। नेपाल प्रहरीका पूर्वअधिकारी खरेलले पनि आफ्नो पुरानो कार्यक्षेत्र मधेसको भूमिबाट चुनाव जित्ने आशा गरेका छन्।

“बाराका जनताले अहिलेसम्म इमानदार नेता नपाएको र आफ्नो अवस्थामा परिवर्तन नआएको भनिरहेका छन्। जनताको भित्री मनमा एसपी खरेल र घण्टी छाप नै बसेको छ। अरू जस्तो भोजभतेर नगरे पनि उनीहरूको इमान्दार साथ पाउनेमा म ढुक्क छु,” खरेलले भने। उनको चुनावी अभियानमा साथ दिन पार्टी सभापति रवि लामिछाने पनि एक पटक बारा पुगेका थिए।

प्रभु साहको प्रभाव

 

प्रभु साह नेतृत्वको आम जनता पार्टीका उम्मेदवार अरुण ज्ञवालीलाई पनि ठूला दलहरूले यो क्षेत्रमा प्रतिस्पर्धीको रूपमा हेरिरहेको देखिन्छ। मङ्सिरको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएरै करिब आठ हजार मत पाएका आम जनता पार्टीका ज्ञवाली ज्ञवालीको अभियानमा पार्टी अध्यक्ष प्रभु साह आफैँ सक्रिय भएर लागेका छन्।
“भागबन्डामा उम्मेदवार छानिएपछि रुष्ट कार्यकर्ताहरू मात्रै नभएर मतदाताले पनि असल र विकास ल्याउने नेता खोजिरहेको मैले देखेँ। मैले जनताको माया र स्नेह मैले पाइरहेको छु,” ज्ञवालीले भने।

मतदाताको अपेक्षा

राजनीतिक दलका उम्मेदवार सबैले चुनाव आफूले जित्ने दाबी गरिरहे पनि आम मतदाताको भने मत दिनेबारे आफ्नै तर्क छ। चिया खाजा पसलमा भेटिएका बारा सुवर्ण गाउँपालिका कबहीगोठका ८५ वर्षीय विन्देश्वरी प्रसाद भन्छन्, “जितेर जान्छन् तर विकास गर्दैनन्। बानी परी सकेको छ हामीलाई पनि झुटो आश्वासनको। हामीले त आफ्नो समय जसोतसो काटिसक्यौ तर अबको पुस्ताले विचार गर्नुपर्छ मत कस्तालाई दिने भनेर।”
औरैयाका स्थानीयवासी ७० वर्षीय सुग्रीव साह थप्छन्, “आशा त गर्नै पर्‍यो की अब जित्ने नेताले त केही गर्लान्। धेरै पुरानै अनुहार छन् तिनीहरूमध्ये नै छान्नुपर्ने हाम्रो बाध्यता छ।” (बिबिसी नेपाली सेवाबाट साभार, तस्बिर : बिबिसी)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर