गण्डकीका मुख्यमन्त्री अधिकारीले शनिबार विश्वासको मत लिने

गण्डकी । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले शनिबार विश्वासको मत लिने भएको छ । प्रदेशसभाको शनिबार दिउँसो ३ः०० बजे बस्ने बैठकमा मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिन लागेका हुन् ।

विश्वासको मत लिने विषयलाई प्रदेशसभा बैठकको कार्यसूचीमा समावेश गर्ने व्यवस्थाका लागि मुख्यमन्त्रीले पत्रमार्फत सूचना दिएको प्रदेशसभा सचिवालयका सूचना अधिकारी प्रेम सुवेदीले जानकारी दिए ।

सत्ता साझेदार नेकपा माओवादी केन्द्रले गत चैत १० गते मुख्यमन्त्री अधिकारीलाई दिएको समर्थन फिर्ता लिएपछि वर्तमान सरकार अल्पमतमा परेको थियो । समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री अधिकारीले प्रदेशसभाबाट विश्वासको मत लिन लागेका हुन् ।

संविधानको धारा १८८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीले विश्वासको मत लिनुहुने प्रदेशसभा सचिवालयले जनाएको छ । ६० सदस्यीय प्रदेशसभाको विश्वास लिन मुख्यमन्त्रीलाई ३१ प्रदेशसभा सदस्यको समर्थन आवश्यक पर्छ । गत पुस २५ गते एमालेसहित माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थनमा अधिकारी गण्डकीको तेस्रो मुख्यमन्त्री भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर