आज मातृ सम्मान दिवस, ग्रहणकालले श्रद्धा प्रकट गर्न नछेक्ने

काठमाडौं। प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा मातृ दिवस अर्थात् आमाको मुख हेर्ने पर्व आज (बिहीबार) देशभर श्रद्धाभक्तिपूर्वक मनाइँदै छ । यस अवसरमा जन्मदाता आमालाई सम्मानस्वरूप मीठा खानेकुरा र नवीन वस्त्र एवं आभूषण प्रदान गर्ने गरिन्छ ।

हिन्दु संस्कारमा पण्डित, आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति सम्मान र आदर गर्ने तथा उनीबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई वर्णन गरिएको छ । आमा दिवंगत भएकाहरूले भने तर्पण, पिण्ड तथा पुरोहितलाई सिदा दानसहित श्रद्धा प्रकट गर्ने गरिन्छ । यसै अवसरमा राजधानीस्थित मातातीर्थमा ठूलो मेला लाग्ने गर्दछ ।

सनातन धर्ममा मनुष्य जीवनमा ऋषि ऋण, देवऋण र पितृ ऋणबाट मुक्त हुनुपर्ने लेखिएको छ । त्यसकारण सनातन धर्ममा ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ अर्थात् जन्म दिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि ठूला एवं प्यारो हुन् भनी उल्लेख गरिएको छ ।

सन्तानलाई नौ महिनासम्म गर्भमा धारण गरी जीवन दिने भएकाले आमाको महत्त्व अरूभन्दा बढी छ । बाबुभन्दा आमाको महत्त्व हजार गुणा बढी हुने भनी शास्त्रीय ग्रन्थमा चर्चा गरिएको छ । यस वर्ष गुरु अर्थात् वृहस्पति ग्रह अस्त भएकाले र विश्वका केही देशमा सूर्य ग्रहण देखिने भएकाले आमाको मुख हेर्नु नहुने भनी गरिएको प्रचार सही नभएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । मातृ सम्मान र श्रद्धा प्रकट गर्न ग्रहणकालले कुनै फरक नपार्ने समितिको कथन रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर