नेप्से परिसूचक बुधबार उकालो लाग्यो, सेयर बजारमा क्रेता सक्रिय

काठमाडौं । नेप्से परिसूचक बुधबार १५.१३ अंकले बढेर १९२०.१२ विन्दुमा बन्द भएको छ । ८७ करोड २१ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार हुँदा २ कम्पनीमा सकारात्मक सर्किट लागेको छ । सेयर बजारमा विस्तारै क्रेताहरु सक्रिय हुन थालेको संकेत मिलेको छ । भाउ अझै घटाएर बेच्नेहरु कम हुँदै गएको र विस्तारै अहिलेको मूल्यमा सेयर खरिद गर्नेहरु नै बढी सक्रिय हुन थालेको बजारको ट्रेन्डले देखाएको जानकारहरु बताउँछन् । अहिले नेप्से सूचकमा उतारचढाव पनि निकै कम भइरहेको छ भने दैनिक टर्नओभर पनि सुस्त छ ।

यसको अर्थ नेप्से अहिले साइडवेजमा छ । क्रेताहरु सकेसम्म घटाएर किन्ने मानसिकतामा रहे पनि अहिलेको भाउ भन्दा पनि अझै घटाएर बेच्न बिक्रेताहरु खासै तयार नहुँदा दैनिक टर्नओभर प्रभावित भएको ब्रोकरहरुको भनाई छ । केही दिनदेखि घटिरहेको बजार विस्तारै सम्हालिन थालेको छ । यसले आगामी दिनमा बजार सकारात्मक दिशातर्फै अघि बढ्ने अनुमान लगाउन सकिन्छ ।

बजार विस्तारै भए पनि माथितिरै जानका लागि केही आधारहरु तय भइसकेका छन् । ब्याजदर घट्न थालेको छ । तरलता सहज हुँदै गएको छ । बैंकहरुले निक्षेपको ब्याजदर एकल अंकमा झारिसकेको अवस्थामा बैंकमा पैसा जम्मा गर्नेहरुको मनस्थिति अब विस्तारै परिवर्तन हुँदै जान सक्ने अनुमान गरिएको छ ।

निक्षेपको ब्याज क्रमशः घट्दै जाँदा बचतकर्ताहरु सेयर बजारतिर आकर्षित हुने अवस्था आउँछ । यसले अन्ततः बजारलाई माथि लैजान सहयोग गर्नेछ । यस्तै, आगामी बजेट र मौद्रिक नीति समीक्षामार्फत सेयर बजार विरोधी नीति र प्रावधानहरु खारेज गरियो भने त्यसले पनि बजार सुधारमा कोशे ढुंगाको काम गर्न सक्छ ।

यतिबेला सेयर बजारमा केही व्यवहारिक र नीतिगत अवरोधहरु रहेका छन् । पुँजीगत लाभकर घटाउन लगानीकर्ताले माग गरेका छन् । यस्तै, सेयर धितोमा जोखिमभार घटाउनुपर्ने अवस्था छ । सेयर धितो कर्जामा १२ करोडको सीमाले पनि लगानीकर्तालाई मनोवैज्ञानिक असर गरेको छ । यी नीतिगत र व्यवहारिक समस्याको सम्बोधन हुन सक्यो भने अवश्य पनि दीर्घकालमा बजारले नयाँ उचाई बनाउन सक्नेछ ।

यस्तै, धितोपत्र बोर्डले नयाँ ब्रोकर लाइसेन्स खुला गर्दैछ । नयाँ स्टक एक्सचेन्ज पनि आउँदैछ । यी पनि सेयर बजारलाई सुधार्न सहयोग पुग्ने आधार हुन सकनेछन् । तर लामो समयदेखि शिथिल बनेको सेयर बजारलाई एकैपटक ह्वात्तै माथि जान पनि गाह्रो हुन्छ । यसका लागि केही समय भने लाग्न सक्छ ।

यस दिन २७३ कम्पनीको २५ लाख ७९ हजार कित्ता सेयर कारोबार भएको छ । ८ करोड ८३ लाख रुपैयाँसहित कारोबार रकममा स्वावलम्बन लघुवित्तको संस्थापक सेयर अग्रस्थानमा आएको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः नबिल बैंक र एनआइसी एसिया बैंक परेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर