संसदमा जग्गा कित्ताकाट निर्णयको विरोध

काठमाडौं । प्रतिनिधि सभाकी सांसद सरस्वती सुब्बाले जग्गाको कित्ताकाट खोल्ने निर्णय देश र वर्तमान परिवेशको विपरीत भएको बताएकी छन् । मन्त्रिपरिषद्को मंगलबारको बैठकको निर्णयप्रति उनले बुधबारको प्रतिनिधि सभा बैठकमा असन्तुष्टि जनाएकी हुन्।

पुरानो अवस्थामा कित्ताकाट खोल्नु देश र वर्तमान परिवेश विपरीत छ। यसले जमिनको खण्डीकरण बढाउँछ। कृषि भूमि समाप्त पार्ने बाटो खोल्छ। प्राकृतिक जोखिम न्यूनीकरण र सीमान्तकृत समुदायको समस्या समाधानको बाटो बन्द गरिदिन्छ। जमिनमा दलालीकरण बढाउँछ। त्यसैले कित्ताकाट खोल्ने निर्णय सच्याउन म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु,’ उनले भनिन्।

सुब्बाले नेपाल खाद्य संकट र जलवायु परिवर्तनको उच्च जोखिममा रहेको बताइन्। भनिन्, ‘संविधानको मौलिक हक अन्तर्गत रहेका खाद्य सम्प्रभुता, सुरक्षित आवास लगायत सम्पूर्ण व्यवस्था कार्यान्वयन हुन सकेको छैन। विश्व परिवेशलाई हेर्दा सन् १९९६ मा पहिलो खाद्य सम्मेलन हुँदा ८० करोड जनता खाद्य जोखिममा थिए। अहिले यो संख्या बढेर २ अर्ब ३० करोड पुगेको छ। नेपालमा खाद्य आयतको अवस्था डरलाग्दो छ।’

उक्त पृष्ठभूमिमा समस्या समाधानका लागि तयार गरिएको भू उपयोग नीति दश वर्ष बित्दा पनि कार्यान्वयन नभएको उनको भनाइ छ। ‘यसको कार्यान्वयन गर्न २०७६ मा भू उपयोग ऐन बन्यो। साथै २०७९ मा भू उपयोग नियमावली बन्यो। २०७९ जेठ २७ मा भूमि व्यवस्था, सहकारी, गरिबी निवारण मन्त्रालयले सबै स्थानीय तहलाई कृषि र गैरकृषि क्षेत्र भए पनि छुट्याउन भन्यो। तर त्यो काम हुन सकेन,’ उनले भनिन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर