संवैधानिक परिषद्को बैठक बिना निष्कर्ष टुंगियो
काठमाडौं । संवैधानिक परिषद्सम्बन्धी बैठक बिना निष्कर्ष सकिएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बुधबार बिहान बसेको बैठकमा प्रधानन्यायाधीश नियुक्तिका सम्बन्धमा सामान्य छलफल र्भको बताइएको छ ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठकमा प्रधानन्यायाधीश नियुक्तिको विषयमा छलफल भएको तर कुनै निर्णय हुन नसकेको बताए ।
यस्तै उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले पनि बैठकमा कुनै निर्णय नभएको जानकारी दिए । उनले भने, “‘‘प्रधानन्यायाधीश नियुक्तिबारे छलफल भयो र बैठक स्थगित भयो ।’’
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा भएको बैठकमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना, उपसभामुख इन्दिरा राना, उपप्रधानमन्त्री एवम् रक्षा तथा कानुन, न्याय र संसदीय मामिलामन्त्री पूर्णबहादुर खड्का र प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली सहभागी थिए ।
नेकपा एमालेका अध्यक्ष ओलीको निजीनिवास बालकोटमा वैशाख ४ गते बसेको प्रमुख तीन दलबीचको बैठकले संवैधानिक परिषद्को बैठक राखेर प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिश गर्ने सहमति भएको थियो ।