संवैधानिक परिषद्को बैठक आह्वान, प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया अघि बढाइने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानन्यायाधीश नियुक्तिको विषयमा छलफल गर्न संवैधानिक परिषद्को बैठक आह्वान गरेका छन् ।
संवैधानिक परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले वैशाख ८ गते शुक्रबार बिहान ९ बजे बस्ने गरी परिषद्को बैठक आह्वान गरेको प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले जानकारी दिए ।

संवैधानिक परिषद्मा प्रधानमन्त्री अध्यक्ष रहने व्यवस्था छ । त्यसैगरी प्रधानन्यायाधीश, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रतिनिधि सभाका प्रमुख प्रतिपक्षी दलका नेता र प्रतिनिधि सभाका उपसभामुख सदस्य रहने व्यवस्था छ । तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध महाभियोग लागेसँगै सर्वोच्च अदालत कायममुकायमको भरमा चल्दै आएको छ । अहिले कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की छन् ।

 

प्रधानन्यायाधीश नियुक्तिकाे प्रक्रिया अघि बढाउने ३ दलबीच सहमति

संसद्का प्रमुख दलका शीर्ष नेताहरुबीच प्रधानन्यायाधीश नियुक्त गर्न मंगलबार संवैधानिक परिषद्को बैठक बोलाउने सहमति भएको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीनिवास बालकोटमा बसेको प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा एवं एमाले अध्यक्ष ओलीबीचको बैठकले उक्त निर्णय गरेको हो । बैठकपछि सञ्चरकर्मीहरुसँग कुरा गर्दै कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले तीन दलको बैठकले चाँडै संवैधानिक परिषद्को बैठक बसेर प्रधानन्यायाधीशको नियुक्ति प्रक्रिया अघि बढाउने सहमति भएको बताए ।

बैठकमा अध्यक्ष ओलीले संवैधानिक परिषद्को बैठक बोलाएर प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया सुरु गर्ने विषयमा सहमति जनाएको लेखकले बताए । बैठकमा संसदको समितिहरु सञ्चालन र संक्रमणकालीन न्यायसम्बन्धी विधेयक टुंग्याउने कुरामा छलफल भएको प्रमुख सचेतक लेखकले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर