गुजरातमाथी राजस्थानको रोमान्चक जित

काठमाडौं । इन्डियन प्रिमियर लिग(आईपीएल) मा गुजरात टाईटन्सलाई हराउदै राजस्थान रोयल्स अंक तालिकाको शीर्ष स्थानमा कायम रहेको छ  ।

घरेलु मैदान नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा गुजरात ३ विकेटले पराजित भएको हो । गुजरातले दिएको १ सय ७८ रनको लक्ष्य राजस्थानले १९ दशमलब २ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो ।

राजस्थानका लागि कप्तान सन्जु सामसन र शिमरन हिटमायरले अर्धशतकीय ईनिङ खेले ।

कप्तान सामसनले ३२ बलमा ३ चौका र ६ छक्काको सहयोगमा ६० रन बनाए । पाँचौं विकेटका लागि कप्तान सामसन र हिटमायरले ५९ रनको साझेदारी गरेका थिए ।

हिटमायरले २६ बलमा २ चौका र ५ छक्काको सहयोगमा अविजित ५६ रन बनाए ।

यसै खेलमा आईपीएल डेब्यु गरेका अफगानिस्तानका स्पिनर नुर अहमदलाई छक्का हान्दै हिटमायरले खेल सकाएका थिए ।

देवदत्त पडीकलले २५ बलमा २६ रन बनाउँदा ध्रुव जुरेल १० बलमा १७ रन बनाए ।

छैटौं विकेटका लागि ध्रुव जुरेल र हिटमायरले ४७ रनको साझेदारी गरेका थिए ।

गुजरातका लागि मोहम्मद सामीले ३ तथा राशिद खान २ तथा नूर अहमद र हार्दिक पान्ड्याले समान १-१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७७ रन बनायो ।

गुजरातका लागि डेबिड मिलरले ३० बलमा ३ चौका र २ छक्काको सहयोगमा ४६ रनको बनाए ।

ओपनर शुभमन गिलले ३४ बलमा ४ चौका र १ छक्काको सहयोगमा ४५ रन बनाए ।

अभिनव मनोहरले १३ बलमा ३ छक्काको सहयोगमा २७ रन बनाए । कप्तान हार्दिक पान्ड्याले २८ तथा साई सुदर्शन २० रनमा आउट भए ।

राजस्थानका लागि एडम जाम्पा,सन्दीप शर्मा,ट्रेन्ट बोल्ड र युजभेन्द्र चहलले समान १-१ विकेट लिए ।

बोल्टले पहिलो ओभरमा नै ओपनर ऋद्धिमान शाहलाई कट एन्ड बोल्ड गरेका थिए ।

पाँचौ खेलमा चौथो जित हात पारेको राजस्थान ८ अंकका साथ शीर्ष स्थानमा कायमै रहेको छ ।

पाँचौ खेलमा दोस्रो हार व्यहोरेको गुजरात ६ अंकका साथ तेस्रो स्थानमा कायमै रहेको छ ।

भारतका विभिन्न शहरमा जारी आईपीएल क्रिकेट प्रतियोगितामा १० टोलीहरुको सहभागीता रहेको छ । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर