म्यान्मारको सैनिक कारवाहीमा ५३ जनाको मृत्यु

रंगुन । म्यान्मारमा सेनाको एक हवाई आक्रमणमा परेर कम्तीमा ५३ जना सर्वसाधारणको मृत्यु भएको छ । मृत्यु हुनेमा १५ जना महिला र अधिकांश बालबालिका रहेको प्रत्यक्षदर्शीहरूले जनाएका छन् । तर मृत्यु हुनेको संख्ख्याका सम्बन्धमा स्वतन्त्र पुष्टि हुन सकेको छैन । सागेइङ क्षेत्रको एउटा गाउँलाई निशाना बनाएर सेनाले हवाई आक्रमण गरेको हो।
सेनाले फेब्रुअरी २०२१ मा शासन आफ्नो हातमा लिएपछि विपक्षीहरूलाई लक्षित गर्दै हवाई आक्रमण गर्दै आएको छ। सागेइङ क्षेत्रका मानिसहरूले म्यान्मारमा सैन्य शासनको कडा विरोध गरेका छन्। उनीहरूले छुट्टै फौज बनाएका छन् तथा आफ्नै विद्यालय तथा स्वास्थ्य केन्द्रहरू सञ्चालन गरिरहेका छन्।
गाउँका एक बासिन्दाले बीबीसीलाई बताएअनुसार त्यहाँ बिहान ७ बजे सैन्य विमान त्यहाँ उडेको थियो र माथिबाट बम खसालेको थियो। त्यसलगत्तै हेलिकप्टरबाट २० मिनेटजति गाउँमा बम खसालिएको थियो। गाउँका बासिन्दाहरूले त्रासदीपूर्ण नरसंहारको दृश्य समाविष्ट भिडिओ साझा गरेका थिए। उक्त भिडिओमा क्षतविक्षत भएका शवहरू र जलिरहेका भवनहरू देखिन्छन्। (एजेन्सी) (फाइल तस्बिर)