आजदेखि बिस्का जात्रा, सुरक्षार्थ ७ सय प्रहरी परिचालन गरिने

भक्तपुर । मुलुकको सांस्कृतिक नगरी भक्तपुरमा आठ रात नौ दिनसम्म भव्यरुपमा मनाइने बिस्काः जात्रा आज देखि (सोमबार) सुरु भएको छ । स्थानीय टौमढी टोलस्थित भैरवनाथको मन्दिरमा पूजा गर्ने भक्तजनहरूको बिहानैदेखि घुइँचो लागेको छ ।

भक्तपुरको स्थानीय नेवारी भाषामा बिस्का जात्रा सुरु हने दिनलाई “द्य क्वँ बिज्याइगु” भन्ने गरिन्छ । जात्राको प्रथम दिन सरकारी पूजा स्वरूप गुठी संस्थान कार्यालयकी प्रमुख खिमा वलीले शुभारम्भ पूजाआजा गरिन् । उनले यस वर्ष छिट्टै रथ तानेर परम्परागत रूपमा भैरवनाथ र भद्रकालीको रथ गःहिटी पु¥याउने कार्यक्रम रहेको बताइन् ।

प्यागोडा शैलीमा निर्माण गरिएको भैरवको रथमा भैरवनाथ र बेतालको मूर्ति विराजमानका साथै हनुमानढोकाबाट ल्याएको खड्ग, तरबार र निशान राखेपछि विधिपूर्वक जात्रा सुरु गर्ने प्रचलन रहेको छ ।

रथमा जुसी बजु, कर्माचार्य, तलेजुको मूल पुजारी, गुठी नाइके, भैरव नाइके, कर्मी नाइके, चौगुठीलगायत तोकिएका व्यक्तिहरू बस्ने चलन छ । आजको जात्रा सम्पन्न भएपछि चैत ३१ गते ल्योसिंखेलमा सरकारी पूजासहित सबै प्रक्रिया पूरा गरी साँझ ५ बजे लिङ्गो उठाइनेछ । वैशाख १ गते अपराह्न ५ बजेभित्र लिङ्गो ढाल्ने र वैशाख ५ गते अपराह्न ५ बजेसम्म रथ जात्रा सम्पन्न गर्ने गरिन्छ ।

प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बिस्केट जात्रामा हुल दङ्गा हुन नदिन र शान्तिपूर्णरुपमा जात्रा सम्पन्न गराउन आवश्यक तयारी गरिएको बताए । प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक प्रजित केसीका अनुसार जात्राका लागि सात सय सुरक्षाकर्मी परिचालन गरिने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर