बैङ्कको ब्याजदर घटाउनेसम्बन्धमा छिट्टै निष्कर्षमा पुग्ने : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैङ्कको ब्याजदर घटाउने विषयमा सरकार छिट्टै एउटा निष्कर्षमा पुग्ने बताएका छन् । अर्थतन्त्र सुधारका लागि सुझाव लिने उद्देश्यले सोमबार बैङ्क तथा वित्तीय क्षेत्रका प्रतिनिधिहरूसँग गरिएको छलफलमा प्रधानमन्त्रीले अर्थतन्त्र सुधारका लागि सरकार गम्भीर रूपमा लागिरहेको बताए ।

बैठकमा प्रधानमन्त्रीले भने, “बैङ्कको ब्याजदर घटाउने उपायहरू खोजिरहेका छौँ। हामी छिट्टै एउटा निष्कर्षमा पुग्छौँ। विदेशी मुद्रा सञ्चितिको दबाबबाट अलि सजिलो महसुस हुँदैछ। अहिले विदेशी मुद्रा सञ्चिति र विप्रेषणमा सुधार आएको छ, बजेट बनाउनुअघि निजी र सरकारी क्षेत्रका प्रतिनिधिहरूसँग बृहत् छलफल गर्ने सोच्दैछु। हामीले एकअर्कालाई आरोपित गरेर समस्या समाधान हुँदैन, सरकार र निजी क्षेत्रले एकले अर्कोलाई सहयोग गरेर मात्र अर्थतन्त्रको चुनौती र दबाबलाई सकारात्मक दिशामा लैजान सक्छौँ।”

प्रधानमन्त्रीले अगाडि भने, “अर्थतन्त्रमा सङ्कट आउनुमा राष्ट्रिय र अन्तर्राष्ट्रिय दुवै कारण जिम्मेवार छन्” प्रधानमन्त्रीले भन्नुभयो, “यसमा भूकम्प, कोभिड, रुस र युक्रेनको युद्धलगायतका कारण छन्। आयात, निर्यातसम्बन्धी निर्यातमा भएका सीमाहरूको कारण पनि छ। राजस्व सङ्कलनमा वृद्धि ल्याउन, राजस्व चुहावट नियन्त्रण गर्न निकै गम्भीर रूपमा लागेका छौँ।”

“अनुगमनलाई मात्रै कडाइ गर्दा पनि अर्थतन्त्रमा सुधार आउँछ, त्यता जोड दिँदैछौँ। घरजग्गा कारोबारमा सहजीकरण नगरीकन तरलताको समस्या सम्बोधन गर्न सक्दैनौँ। त्यस कारण यसमा पनि हामी छिट्टै निष्कर्षमा पुग्छौँ” प्रधानमन्त्रीले भने। “बैङ्क ऋण लिने तर तिर्दिनँ भन्नेहरूलाई छोड्नु हुँदैन। त्यस्तो अराजक प्रवृत्तिलाई छुट दिन सकिँदैन” प्रधानमन्त्रीले भन्नुभयो, “हूल हुज्जतको सहज सकिँदैन, त्यसमा सरकार कठोर हुन्छ।”


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर