सांसद श्रेष्ठ घुस अडियो प्रकरणले संसदमा प्रश्नोत्तर
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी सांसद ढाकाकुमार श्रेष्ठको अडियो प्रकरणले सोमबार बसेको संसद्को दुबै सदनमा प्रश्नहरू उठेका छन् ।
अधिकांश सांसदले बैठकमा सांसद श्रेष्ठलाई कारबाही गरी छानबिन गर्न सरकारसँग माग गरेका छन् । मन्त्री बन्नका लागि घुस माग्ने सांसदलाई सरकारले त्यसै छोड्न नहुने भन्दै सांसदहरुले सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेका छन् ।
प्रतिनिधि सभा बैठकमा कांग्रेसका सांसद धनराज गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद श्रेष्ठको अडियो प्रकरण छानबिन गर्न संसदीय समिति गठनको माग गरे। यस्तै, बैठकमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले वर्तमान गठबन्धनको सरकारले सिंहदरबारलाई भ्रष्टाचारको अखडा बनाउन खोजेको आरोप लगाए ।
त्यस्तै, राष्ट्रिय सभाको बैठकमा नेकपा एमालेकी सांसद दिलकुमारी थापा रावल ले दुई करोड घुस माग्ने सांसद ढाकाकुमार श्रेष्ठबारे सत्यतथ्य छानबिन गरी कारबाही गर्न सरकारसँग माग गरिन् । त्यस्तै, नेकपा एमालेका सांसद ऋषिकेश पोखरेलले ‘स्वास्थ्यमन्त्रीको भाउ दुई करोड पुगेछ भन्दै व्यङ्ग्य गरे ।
राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले पार्टीका प्रतिनिधि सभा सदस्य ढाकाकुमार श्रेष्ठको रकम लेनदेनको अडियो सार्वजनिक भएको प्रकरणमा माफी मागेका थिए ।