ताइवानको समुद्र र आकाशमा दोस्रो दिन पनि चिनियाँ सेनाको गस्ती

काठमाडौं । चीनले ताइवानको आकाश र समुद्रमा सैन्य परेडलाई दोस्रो दिन पनि जारी राखेको छ ।

ताइवानका राष्ट्रपति इङ वेनको अमेरिका भ्रमणको विरोधमा रुष्ट बनेको चीनले तीन दिने सैन्य अभ्यासको क्रममा ताइवानलाई घेरा हालिरहेको छ । चीनको ७० वटा सैन्य विमानले ताइवानको टापु नजिकै घेरा हालेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

चीनले जोइन्ट सोर्ड नाम गरेको सैन्य अभियान मंगलबारसम्म जारी रहने जनाएको छ ।

यसैबीच, अमेरिकाले चीनलाई संयमता अपनाउन अपिल गरेको छ । चीनले भने ताइवानका राष्ट्रपतिको अमेरिका भ्रमणको परिणाम राम्रो नहुने चेतावनी पनि दिएको छ ।

यसअघि ताइवानको रक्षा मन्त्रालयले ४२ वटा चिनियाँ सैन्य विमान र आठ वटा युद्धपोतले चीन र ताइवान छुट्याउने काल्पनिक मध्यरेखा पार गरेको जनाएको छ । चीनले ताइवानलाई आफ्नै क्षेत्र मान्दै आएको छ भने ताइवानले आफूलाई स्वतन्त्र देश दाबी गर्दै आएको छ ।

चिनियाँ सरकारी सञ्चारमाध्यमले अहिले चलिरहेको सैन्य अभ्यासले ताइवान टापुलाई चीनले जुनसुकै बेला कब्जा गर्न सक्ने सामथ्र्य देखाउन खोजेको बताएका छन् । चिनियाँ सेनाले ताइवान वरपर लामो दूरीका रकेट, मिसाइल, लडाकु विमान, बमवर्षक लगायतका अत्याधुनिक हतियार तैनाथ गरेको छ ।

केही समय अघि भएको चिनियाँ जनकंग्रेसको बैठकमा राष्ट्रपति सि जिनपिङले ताइवानलाई चीनकै प्रान्तको रुपमा राख्न जुनसुकै बेला बल प्रयोग गर्न सक्ने बताउनुभएको छ । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर