शीर्ष नेताबीच संसद् सञ्चालन र संक्रमणकालीन न्यायसम्बन्धी छलफल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे र तीन दलका शीर्ष नेताबीच संसद् सञ्चालन, संक्रमणकालीनसम्बन्धी छलफल भएको बताइएको छ ।

सिंहदरबारस्थित सभामुखको कार्यालयमा शनिबार प्रधानमन्त्री प्रचण्ड, सभामुख घिमिरे, प्रमुख प्रतिपक्षी दलका नेता नेकपा एमालेका अध्यक्ष केपी ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भएको भेटवार्तामा उक्त छलफल भएको हो ।

बैठकपछि सञ्चारकर्मीसँग प्रधानमन्त्री प्रचण्डले संसद् सञ्चालन, संक्रमणकालीन न्यायसँग सम्बन्धित विषयमा छलफल भएको जानकारी दिए ।सभामुख र शीर्ष नेताबीचको भेटमा संसद् सञ्चालन र विधेयकका सम्बन्धमा छलफल भएको प्रधानमन्त्री प्रचण्डले स्पष्ट पारे ।

प्रधानमन्त्री प्रचण्डले भने, ‘‘संक्रमणकालीन न्यायसम्बन्धी विधेयकहरू छिटो टुंग्याउन जरुरी छ। सहमति जुटाउने भन्ने कुरामा सैद्धान्तिक रूपमा सबै सहमत छौं। यो विषयमा थप छलफल गरेर टुंगोमा पु¥याउन चैत २८ गते फेरि छलफल हुनेछ ।’’

प्रधानमन्त्री प्रचण्डले बैठकका सम्बन्धमा पूस्ट पादै भने, “सरकारमा सहभागी दलले विधेयकलाई फास्ट ट्रयाकबाट पारित गर्नुपर्छ भनेको छ। तर प्रतिपक्षले समितिमा लैजानुपर्ने भनेको छ। बीचको बाटो खोज्ने भन्ने पनि छ ।“

लामो समयदेखि संक्रमणकालीन न्यायसम्बन्धी मुद्दाको किनारा नलागेको भन्दै सरकारले योसँग सम्बन्धित विधेयकलाई प्राथमिकतामा राखेको छ। सरकारले सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ संशोधन गर्न बनेको विधेयक, संवैधानिक परिषद्सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक र सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवर्धनसम्बन्धी केही ऐन संशोधन गर्न बनेको विधेयकलाई प्राथमिकता दिएको छ। सरकारमा सहभागी दलले विधेयकलाई छिटो बाटोबाट अगाडि बढाउन पहल गरिरहेका छन्।

शीर्ष नेताहरूबीच कुराकानी गराउने प्रयास सफल : सभामुख घिमिरे

यसैबीच छलफलमा सहभागी सभामुख देवराज घिमिरेले पछिल्लो समय तीन राजनीतिक दलका नेताबीचमा सामूहिक विषयमा कुराकानी हुन नसकेको अवस्थालाई दृष्टिगत गर्दै बैठक बोलाइएको बताएका छन ।

बैठकपछि सभामुख घिमिरेले शीर्ष नेताहररूको बीचमा पछिल्लो समय कुनै सामूहिक विषयमा कुराकानी हुन नसकेको र आज सामान्य कुराकानी गराउने प्रयास भएको स्पष्ट पारे । सभामुख घिमिरेले भने, ‘‘सहमति र विमति भन्दा पनि नेताको बीचमा आपसमा बसेर सामूहिक विषयमा कुराकानी भएको थिएन, सामान्य कुराकानी गराउन पहल भएको छ, सामान्य कुराकानी भएको छ।’’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर