निर्वाचन आयोगद्वारा दलहरूलाई कडा निर्देशन जारी

काठमाडौं । प्रतिनिधिसभाको तीन निर्वाचन क्षेत्रको उपनिर्वाचनका लागि आज मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको छ । चितवन–२, तनहुँ–१ र बारा–२ मा वैशाख १० गते उपचुनाव हुँदैछ ।

निर्वाचन आयोगले राजनीतिक दलहरूका लागि उक्त चुनावलक्षित १० बुँदे निर्देशन जारी गरेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले विज्ञप्ति जारी गर्दै आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गर्न सकिने जानकारी दिए ।

उनका अनुसार उम्मेदवारी मनोनयन गर्न जाँदा दलहरूले उमेदवार, समर्थक प्रस्तावकसहित २५ जनाभन्दा बढीको जुलुस लिएर जान पाउने छैनन् । त्यसैगरी, मनोनयनपत्र पेस गर्न जाँदा बाजागाजासहित जान नपाउने विज्ञप्तिमा उल्लेख छ । उम्मेदवारको पहिचान, लोगो, टिसर्ट, ज्याकेट पनि लगाउन पाइने छैन ।

दलहरूलाई आयोगको १० बुँदे निर्देशन

१. निर्वाचनमा उमेदवारको मनोनयनपत्र पेस गर्न जाँदा उम्मेदवार, प्रस्तावक र समर्थकसहित बढीमा २५ जनाभन्दा बढीको जुलुस लिएर जान नहुने,

२. उम्मेदवारको मनोनयनपत्र पेस गर्न जाँदा बाजागाजा, झाँकी तथा निर्वाचन आचारसंहिता २०७९ विपरीतका ब्यानर, चिह्न र झण्डासहित जान नहुने,

३. उम्मेदवारको मनोनयनको समयमा उम्मेदवारको पहिचान झल्किने लोगो, टीका, चिह्न, टिसर्ट, ज्याकेट, कमिज, ब्याज, मास्क, लकेट, झोला, टोपी, गम्छा, ब्यानर, प्लेकार्ड प्रयोग गर्न नहुने,

४. मनोनयनको समयमा उम्मेदवारको पक्षमा नारा÷जुलुस, भाषण र प्रतिस्पर्धीलक्षित गालीगलौज र टिकाटिप्पणी नगर्ने नगराउने,

५. उम्मेदवारको मनोनयनको समयमा सरकारी वा अर्धसरकारी निकाय वा सार्वजनिक संस्थाको वा अन्तर्गतको कुनै परियोजनाको स्रोतसाधन र सम्पत्ति प्रयोग गर्न नहुने,

६. नेपाल सरकार, प्रदेश सरकार, मन्त्री र स्थानीय कार्यपालिका तथा सोका पदाधिकारीले तत् तत् हैसियतमा रही उम्मेदवारको मनोनयनमा सहभागी हुन नहुने,

७. उम्मेदवारको मनोनयनका समयमा बालबालिकाको प्रयोग गर्न गराउन नहुने,

८. मनोनयनका क्रममा संवैधानिक निकाय तथा सोका पदाधिकारीले कुनै राजनीतिक दल वा उमेदवारलाई आफ्नो सवारीसाधन वा अन्य सामग्री प्रयोग गर्न दिन नहुने,

९. हेलिकप्टर प्रयोग गरी राजनीतिक दल वा उम्मेदवारले उम्मेदवारी मनोनयन गर्न जान नहुने,

१०. नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहअन्तर्गतका निकाय, अर्धसरकारी तथा सार्वजनिक संस्था र सोमा कार्यरत कर्मचारीले उम्मेदवारी मनोनयनको क्रममा राजनीतिक दल वा उम्मेदवारसँग सहभागी हुन नहुने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर