अर्थमन्त्री सामाजिक सुरक्षा भत्तामा संकुचन ल्याउनेतर्फ अग्रसर

काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले सामाजिक सुरक्षा भत्तामा संकुचन ल्याउने योजना सोचेका छन् । उनले सामाजिक सुरक्षा भत्ता दिनै पर्ने व्यक्तिलाई मात्र दिने योजना बन्दै गरेको मंगलबार अर्थ समितिमा बताए ।

उनले भने, ‘अब निर्णय गर्दा विचार गर्नुपर्छ, अब तल्लो वर्ग, समूह विपन्न वर्गको तथ्यांक आउँदैछ, जो निश्चित आयभन्दा तल छ, उनीहरुलाई लक्षित गरेर हामी सामाजिक सुरक्षाका कार्यक्रम सञ्चालन गर्र्छौं । जसलाई आवश्यक छ, उसलाई सामाजिक सुरक्षा, अनुदान अथवा भत्ता त्यहाँ जाने भयो, जसलाई आवश्यक पर्दैन, त्यहाँ हामीले थप खर्च गर्नुपर्दैन । यो भयो भने हामी आउँदा दिनमा खर्च व्यवस्थापन सहज रूपमा कार्यान्वयन गर्न सक्छौं ।’

यसका साथै अर्थमन्त्री महतले अहिले अर्थतन्त्रको समग्र अवस्था सकारात्मक बाटोमा उन्मुख रहेको, यद्यपि समस्यामुक्त भइनसकेको बताए । डा. महतले भने, ‘कुनै पनि देशको अर्थतन्त्र समस्यामुक्त हुँदैन । समस्या आइरहन्छ, समाधानको बाटो पहिल्याउँदै जानुपर्छ ।’

सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा मन्त्री डा. महतले भने, ‘अर्थतन्त्र चलायमान बनाउन अर्थमन्त्रालय समन्वयकारी भूमिकामा छ । केही ठाउँमा यसले अगुवाइ पनि गरेको छ, सबैको समन्वय र क्रियाशीलताले समस्या हामी न्यून गर्दै जान्छौं । समस्या न्यून गरियो भने हामी विकास र समृद्धिको बाटोमा अगाडि बढ्न सक्छौं ।’

‘राजस्व उठ्ने विषयमा समस्याहरु देखिएको छ, तर प्रगति भएको छ । राजस्व संकलनमा संशोधित लक्ष्य निर्धारण गरेअनुसार उठाउन सकेका छैनौं, प्रगति भएको छ । हामीले गत वर्षभन्दा ० दशमलब ५२ प्रतिशत बढी उठाउन सक्छौं’ मन्त्री डा महतले भने, ‘कसिलो मौद्रिक नीति राष्ट्र बैंकले अपनायो, जसले गर्दा आवश्यक मुद्रा प्रवाह हाम्रो अर्थतन्त्रमा भएन । ब्याजदर बढ्यो, यसले गर्दा निजी क्षेत्रबाट लगानी बढेन, पूँजीगत खर्च त्यही रूपमा हुन सकेन । जसले गर्दा अर्थतन्त्र भनेजति चलायमान भएन ।’

‘आउँदो वर्ष हाम्रो अर्थतन्त्र चलायमान हुने संकेतहरु देखिन थालेको मन्त्री डा. महतले बताए । उनले भने, ‘मौद्रिक नीतिका लागि हामीले राष्ट्र बैंकलाई भनेका छौं, समयसीमाभित्र बजेट कार्यान्वयनका लागि हामीले कर्मचारीलाई निर्देशन गरिसकेका छौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर