जिम्बावेलाई हराउदै श्रीलंका विश्वकपमा छनोट
काठमाडौं । आइसीसी विश्वकप छनोटको सुपर सिक्स खेलमा जिम्बावेलाई पराजित गर्दै श्रीलंकाले विश्वकपमा स्थान बनाएको छ ।
बुलाबायोमा रहेको क्विन्स स्पोर्ट्स क्लबमा जिम्बावेलाई ९ विकेटले पराजित गरेर श्रीलंका छनोटबाट विश्वकपमा छानिने पहिलो टोली बनेको छ ।
जिम्बावेले दिएको १ सय ६६ रनको लक्ष्य श्रीलंकाले ३३ दशमलब १ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो ।
श्रीलंकाका लागि पथुम निसंकाले १ सय २ बलमा १४ चौकाको सहयोगमा अविजित १ सय १ रनको शतकीय ईनिङ खेले । पहिलो विकेटका लागि ओपनरद्वय दिमुथ करुणारत्ने र पथुम निसंकाले १ सय २० बलमा १ सय ३ रनको महत्वपुर्ण सुरुआत दिलाए ।
ओपनर करुणरत्ने ५६ बलमा २ चौकाको सहयोगमा ३० रनमा आउट भएसँगै सो साझेदारी तोडिएको थियो ।
दोस्रो विकेटका लागि ओपनर पथुम र कुशल मेन्डिसले ८० बलमा ६६ रनको साझेदारी गर्दै टोलीलाई जित दिलाए । मेन्डिसले ४२ बलमा २ चौकाको सहयोगमा अविजित २५ रन बनाए ।
जिम्बावेका लागि रिचार्ड नगर्भाले १ विकेट लिए ।
त्यस अघि टस हारेर पहिला ब्याटिङ गरेको जिम्बावे ३२ दशमलब २ ओभरमा १ सय ६५ रनमा अलआउट भयो ।
जिम्बावेका लागि सन विलियम्सले ५७ बलमा ६ चौका र १ छक्कासहित ५६ रनको अर्धशतकीय ईनिङ खेले । सिकन्दर राजा ५१ बलमा ३ चौका र १ छक्कासहित ३१ रन बनाए । रायन बर्ल १६ र क्रेग इर्विन १४ रनमा आउट भए । जिम्बावेका कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।
श्रीलंकाका स्पिनर महेश थिक्सेनाले ४ तथा दिलशान मदुशानकाले ३ विकेट लिए । पथिसा पाथिरानाले २ तथा दाशुन शनकाले एक विकेट लिए ।
जितसँगै श्रीलंकाको ८ अंकका साथ एक खेल अगावै विश्वकपका लागि छनोट भएको छ ।
पराजित जिम्बावेले विश्वकपमा स्थान बनाउन अन्तिम खेलमा स्कटल्यान्डलाई हराउनु पर्ने हुन्छ ।