ओमानलाई हराउदै जिम्बावे विश्वकप नजिक

काठमाडौं । जिम्बावेमा जारी आइसीसी एकदिवसीय विश्वकप छनोटमा सेन विलियम्सको शतकको सहयोगमा घरेलु टोलीले विश्वकपमा छनोट हुने सम्भावना बलियो बनाएको छ ।

क्विन्स स्पोर्टस् क्लबको मैदानमा भएको सुपर सिक्सको पहिलो खेलमा जिम्बावेले ओमानलाई १४ रनले पराजित गरेको हो ।

जिम्बावेले दिएको ३ सय ३३ रनको लक्ष्य पछ्याएको ओमानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३ सय १८ रन मात्र बनायो ।

ओमानका लागि ओपनर कश्यप प्रजापतीले ९७ बलमा १२ चौका र १ छक्काको सहयोगमा १ सय ३ रनको शतकीय ईनिङ खेले पनि टोलीलाई जित दिलाउन भने सकेनन् । ओडिआई करियरको दोस्रो शतक प्रजापतीले ९३ बलमा पूरा गरे ।

ओमानले २९ रनमा नै पहिलो विकेट गुमाएको थियो । तर, दोस्रो विकेटका लागि प्रजापती र अकिव ईलियासले ९९ बलमा ८३ रनको महत्वपूर्ण साझेदारी गरे । ईलियास ६१ बलमा ५ चौकाको सहयोगमा ४५ रन बनाउँदै सिकन्दर राजाको बलमा आउट भए ।

३० औं ओभरको तेस्रो बलमा कप्तान जिशान मकशुद २३ रन बनाउँदै रिटायर्ट हर्ड आउट भएका थिए । आयान खानले ४३ बलमा ५ चौकाको सहयोगमा ४७ रनको ईनिङ खेले ।

मोहम्मद नदिम १८ बलमा ३० रन बनाएर अविजित रहे ।

जिम्बावेका लागि ब्लेसिङ मुजरवानी र टेन्डि चतराले समान ३/३ तथा रिचार्ड नगर्भाले २ विकेट लिए । सिकन्दर राजाले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको जिम्बावेले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३ सय ३२ रन बनाएको थियो ।

जिम्बावेका लागि सेन विलियम्सले १ सय ३ बलमा १४ चौका र ३ छक्काको सहयोगमा १ सय ४२ रनको शतकीय ईनिङ खेले । ओडिआई करियरको आठौं शतक विलियम्सले ८१ बलमा पूरा गरेका थिए । यस प्रतियोगितामा पाँचौं खेल खेल्दै गरेका विलियम्सको यो तेस्रो शतक हो ।

कप्तान क्रिग इर्भान र गुम्बिले पहिलो विकेटका लागि ४६ रनको साझेदारीका साथ राम्रो सुरुआत दिलाएका थिए । इर्भानले ४० बलमा २५ रन बनाए । ओपनर गुम्बिले ३४ बलमा २१ रन बनाए ।

चौथो विकेटका लागि विलियम्स र सिकन्दर राजाले ९४ बलमा १ सय २ रनको उत्कृष्ट साझेदारी गरे । राजाले ४९ बलमा ६ चौकाको सहयोगमा ४२ रन बनाए ।

ल्यूक जोन्गवेले २८ बलमा ४ चौकाको सहयोगमा अविजित ४३ रन बनाए । रिचार्ड नगर्भाले ४ बलमा अविजित ११ रन बनाउँदा रायन बर्लले १२ बलमा १३ रन बनाए ।

ओमानको लागि फैयज बटले ४ तथा कप्तान जिशान मकशुद,बिलाल खान र कलिमुल्लाहले समान १/१ विकेट लिए ।

सुपर सिक्सको पहिलो खेलमा जित निकालेको जिम्बावे शीर्ष स्थानमा रहेको छ । समूह चरणबाट ल्याएको ४ अतिरिक्त अंक सहित जिम्बावे शीर्ष स्थानमा रहेको छ ।

पराजित ओमान अंक बिहिन रहँदै पुछारमा रहेको छ । ओमानको विश्वकपमा छनोट हुने सम्भावना कमजोर बनेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर