बारामा १५ जना मिटरब्याजी पक्राउ

काठमाडौं । अनुचित लेनदेन (मिटरब्याज) अन्तर्गतको उजुरी अनुसन्धानका क्रममा आरोपित व्यक्तिहरू पक्राउ पर्न थालेका छन्। जिल्ला प्रशासन कार्यालयको आदेशमा बारा प्रहरीले हालसम्म १५ जना आरोपित व्यक्तिलाई पक्राउ गरेको छ।

बारा जिल्लामा परेका तीन हजार ३२२ उजुरीमध्ये हालसम्म २३० वटा उजुरीको छलफल भएकोमा १४९ वटा फस्र्योट भइसकेको प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बताए । जिल्ला प्रशासन कार्यालयको आदेशमा बारा प्रहरीले १५ जना आरोपित व्यक्तिलाई पक्राउ गरेको थियो। पक्राउ परेकामध्ये कतिपय रकम मिलान र सहमति भएपछि छुटेका छन्। न्याय निरूपणका क्रममा आरोपित व्यक्ति र उजुरीकर्तालाई कार्यालयमा बोलाएर बयान लिने कार्य भइरहेको उनले जानकारी दिए । धेरै उजुरी परेका कारण कार्यालयको काम नै प्रभावित हुन नदिन तीन वटा टोली बनाएर दैनिक ३० वटा उजुरीको छलफल गराउने र सहमतिमा किनारा लगाउने काम भइरहेको प्रजिअ सापकोटाले बताए ।

यता जितपुरसिमरा नगरपालिका बस्ने सिर्जना गिरी मिटरब्याज र बैङ्किङ कसुर मुद्दाअन्तर्गत पक्राउ परेकी छन्। निजगढ नगरपालिका निवासी सुजित घिसिङले २० लाख रुपैयाँबराबरको चेक अनादर मुद्दा दायर गरेपछि गिरीलाई पक्राउ गरिएको हो। गिरीले स्थानीय व्यापारीहरूको करिब १० करोड बढीको अनुचित लेनदेन (मिटरब्याज) को कारोबार गरेको देखिएपछि गिरीलाई पक्राउ गरिएको बाराका प्रहरी उपरीक्षक होविन्द्र बोगटीले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर