तीन सातामा १४८ मिलिमिटर वर्षा : पूर्वी नेपालमा बाढीको वितण्डा, अर्बौंको क्षति

काठमाडौं । साधारणतया अंग्रेजी महिनाको जुन १० देखि सेप्टेम्बरसम्मका चार महिनाको अवधिलाई दक्षिण एशियालीमा मनसुन अवधि मानिन्छ । सो अवधिमा नेपालमा वार्षिक वर्षाको करिब ८० प्रतिशत वर्षा हुने जल तथा मौसम पूर्वानुमान विभागको तथ्यांकले देखाएको छ । जल तथा मौसम पूर्वानुमान विभागका अनुसार नेपालमा सरदर जुन १३ मा मनसुन भित्रिन्छ । तर, यस वर्ष भने एकदिन ढिला गरी अर्थात् जुन १४ मा मनसुन भित्रियो । गतवर्ष जुन ५ मा मनसुन भित्रिएर अक्टोबर १६ मा बाहिरिएको थियो ।

मनसुन अवधिमा मुलुकभरको औषत वर्षाको मात्रा एक हजार ४९९ दशमलव छ मिलिमिटर रहेको छ । यो भन्दा १० मिलीमिटर बढी वा कम वर्षा भएपनि औषत वर्षा नै मानिने छ । त्यस्तै, काठमाडौं उपत्यकाको वार्षिक वर्षा एक हजार ४५४ दशमलव आठ मिलीमिटर रहेको छ । गतवर्ष १० दिन ढिलो गरी जुन २० अर्थात् असार ५ मा नेपालमा भित्रिएको मनसुन औसत दिनभन्दा १९ दिन ढिलो गरी अक्टोबर १२ (असोज २५) मा मात्रै सकिएको थियो ।

मनसुन ढिलो भित्रिए पनि मुलुकभर मनसुनको समयमा औषत वर्षा हुने जल तथा मौसम पूर्वानुमान विभागको अनुमान छ । दक्षिण एशियाली जलवायु दृष्टिकोण मञ्च ‘सास्कोप’ ले हालै नेपालसहित समग्र दक्षिण एशियाको मनसुन विश्लेषण गर्दा मनसुनमा मुलुकभर औषत वर्षा हुने विभागले प्रक्षेपण गरेको छ ।

जल तथा मौसम पूर्वानुमानको विभागको  हावापानी शाखाका मौसमविद् सुदर्शन हुमागाईंका अनुसार देशका अधिकांश स्थानमा हालसम्म सरदर वर्षा भएको छ । यो वर्ष मनसुन भित्रिएको जेठ ३१ देखि असार १२ (जुन १४ देखि २७)सम्मको अवधिमा एक सय ४८ दशमलव आठ मिलिमिटर (एमएम) वर्षा भएको छ ।

सुरुवातमै पूर्वी नेपालमा ‘वितण्डा’ 
मनसुन भित्रिएको सुरुवाती चरणमा नै पूर्वी नेपालमा ‘वितण्डा’ मच्याएको छ । मनसुन शुरु भएसँगै परेको भारी वर्षाका कारण पूर्वी नेपालका पहाडी जिल्लामा ठूलो क्षतिभएको छ । असार ३ गते शनिबार राति आएको बाढी र पहिरोमा दजनौं मानिसहरु बेपत्ता भएका छन् भने केहिको मूल्य समेत भएको छ । ते¥ह्रथुमको चैनपुर नगरपालिका–४ स्थित हेवा खोलामा निर्माणाधीन जलविद्युत आयोजनामा कार्यरत १६ जना बेपत्ता भए । केहिको उद्दार गरिएको थियो भने केहिको मृत्यु भएको थियो ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता ध्रुवबहादुर खड्काका अनुसार देशभर बाढी पहिरोबाट २७ जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । यसका साथै बाढी पहिरोमा परि २३ जनाअझै वेपत्ता रहेका छन् भने १६ जना बाढी र पहिरोमा परेर घाइते भएका छन् ।

जलविद्युत, सडक र पुलमा अर्बौँको क्षति
पूर्वी नेपालमा आएको बाढीपहिरोका कारण नेपाल विद्युत् प्राधिकरणको प्रणालीमा एक सय ६४ मेगावाट बराबरको विजुली आपूर्ति अवरुद्ध भएको छ । निजी क्षेत्रको ऊर्जा उत्पादकको संगठन स्वतन्त्र ऊर्जा उत्पादनको संस्था नेपाल (इपान)ले बाढीपहिरोका कारण कूल चार सय ६३ मेगावाट क्षमताका ३० आयोजनामा आठ अर्ब ५० करोड बराबरको प्रारम्भि कक्षतिभएको जानकारी दिएको छ । हाल प्राधिकरणको प्रणालीमा विभिन्न १० आयोजनाको विजुली उपलब्ध हुनसकेको छैन ।

प्राधिकरणका अनुसार काबेली करिडोरका काबेली ‘बी’ एक २५ मेगावाट, काबेली ‘बी’ एक क्यासकेड नौ दशमलव ९४ मेगावाट, इवाखोला नौ दशमलव नौ मेगावाट, हेवाखोला १४ दशमलव नौ मेगावाट र तल्लो हेवा २२ मेगावाट बराबरको विजुली प्रणालीमा आउन सकेको छैन । ती आयोजनाको कूल क्षमता ८१ दशमलव ७४ मेगावाट छ  ।

त्यस्तै, एउटा युनिटमा समस्या आएका कारण सात दशमलव पाँच मेगावाट क्षमताको माथिल्लो खोरुङगा खोला आयोजनाबाट तीन दशमलव ७५ मेगावाट मात्रै विजुली प्रणालीमा जोडिएको छ ।।’ सिङ्क्रोनाइजिङ ब्रेकर’मा समस्या आएका कारण सोलु दूध कोशी जलविद्युत् आयोजनाले पनि पूर्णक्षमतामा विजुली उत्पादन गर्न सकेको छैन ।

सो आयोजनाको कूल क्षमता ८६ मेगावाट भएपनि हाल २८ दशमलव छ मेगावाट मात्रै प्रणालीमा उपलब्ध रहेको प्राधिकरणको भार प्रेषण केन्द्रले जनाएको छ । दोर्दी करिडोरको सुपर दोर्दीले पनि कूल क्षमताको पचास प्रतिशत मात्रै विजुली उत्पादन गरेको छ । सो आयोजनाको कूल क्षमता ५४ मेगावाट भए पनि हालमात्रै २७ मेगावाट मात्रै विजुली उत्पादन गरिरहेको छ ।

दोर्दी आयोजनाले १८ मेगावाट मात्रै विजुली प्रणाली पठाइरहेको छ । सो आयोजनाको क्षमता २७ मेगावाट हो । पाँच मेगावाट क्षमताको घलेम्दीको ‘पेनस्टक पाइप’मा समस्या आएकाले त्यहाको उत्पादन पनि प्रणाली बाहिर छ ।

बाढीले मेची राजमार्ग अन्तर्गत पाँचथर र ताप्लेजुङ जाने बाटोमा पर्ने हेवा खोलाको पुल पनि बगाएको छ । बाढीका कारण सडक र पुलमा क्षति पुर्याउँदा करिब ५० करोड रकम बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

उच्च जोखिममा २१ जिल्ला
मनसुनको समयमा अन्य बेलाभन्दा बढी बाढी पहिरोले जनजीवन प्रभावित बनाउने गर्दछ । नेपालका कतिपय जिल्ला बढीबाट बढी प्रभावित छन् भने कतिपय जिल्ला पहिरोबाट बढी प्रभावित हुने गरेका छन् । यस्तै केही जिल्ला बढी र पहिरो दुवैको जोखिममा छन् ।

विपद् जोखिमन्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्ष मनसुनको समयमा कुन जिल्लामा कस्तो जोखिम पर्न सक्छ भनेर अध्ययन गरेर विभिन्न तथ्याहरु सार्वजनिक गरेको छ । यस वर्ष विभिन्न जिल्ला उच्च जोखिम, जोखिम र बारम्बार भइरहेको जोखिमको सूचिमा राखेर विवरण सार्वजनिक गरिएको प्राधिकरणले जनाएको छ । विगतको तथ्यांङ, मौसम प्रणाली, यस वर्षको मनसुन पूर्वानुमान लगायत विभिन्न सूचकको विश्लेषणका आधारमा आउँदो मनसुनका समयमा नेपालका २१ जिल्ला पहिरोको उच्च जोखिममा रहेको बताइएको छ भने अन्य ३३ जिल्ला पहिरोको मध्यम जोखिममा छन् । २२ जिल्लाभने बारम्बार बाढीबाट प्रभावित भएको पाइएको छ । यस्तै सात जिल्ला बाढी पहिरो दुवैबाट प्रभावित हुँदै आएका छन् ।

उच्च जोखिममा परेका जिल्लामा इलाम, पाँचथर, धनकुटा, तेह्रथुम, ओखलढुङ्गा, ललितपर, भक्तपुर, नुवाकोट, धादिङ, तनहुँ, स्याङ्जा, पाल्पा, गुल्मी, अर्घाखाँची, बागलुङ, प्यूठान, रोल्पा, रूकुमपश्चिम, दैलेख, अछाम र बैतडी रहेका छन् ।

मध्यम जोखिममा रहेका जिल्लाहरुमा ताप्लेजुङ, सङ्खुवासभा, भोजपुर, खोटाङ, उदयपुर, सोलुखुम्बु, सिन्धुली, रामेछाप, दोलखा, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, मकवानपुर, रसुवा, गोरखा, लमजुङ, कास्की, पर्वत, मनाङ, मुस्ताङ, म्याग्दी, रुकुमपूर्व, डोल्पा, जुम्ला, मुगु, कालीकोट, हुम्ला, सल्यान, जाजरकोट, डोटी, डडेलधुरा, बाजुरा, बझाङ, र दार्चुला रहेका छन् ।

बारम्बार बाढीबाट प्रभावित हुने जिल्लामा झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, नवलपर, परासी, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, सुर्खेत, कैलाली र कञ्चनपुर छन् । तराईका केही जिल्लामा भने पछिल्ला समयमा बाढीको प्रभाव कमहुँदै गएको प्राधिकरणले जनाएको छ । बाढीपहिरो दुवैबाट प्रभावित जिल्लामा सिन्धुली, काठमाडौं, सिन्धुपाल्चोक, कास्की, बझाङ, बाजुरा, र उदयपुर छन् ।

साढे १२ लाख प्रभावित हुने 
मनसुनको पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजनाले यसवर्ष १२ लाख ५० हजार मानिस विपद्बाट प्रभावित हुने आँकलन गरेको छ । गतवर्ष २० लाख मानिस प्रभावित हुने भनिएकामा यस वर्ष त्यो संख्या केही घट्ने देखिएको भन्दै यसवर्ष १२ लाख ५० हजार मानिस प्रभावित हुने आँकलन गरिएको प्राधिकरणले जनाएको छ ।

मनुसनको अवधिमा झाडापखाला, हैँजा जस्ता पानीजन्य रोगको सङ्क्रमण बढ्नुका साथै सर्पदंश, डेंगु, मलेरियाजस्ता किटजन्य रोगको जोखिम बढ्ने भएकाले स्वास्थ्य क्षेत्रमा आवद्ध व्यक्तिलाई पनि तयारी अवस्थामा राख्नुपर्ने विपद् व्यवस्थापन विज्ञको भनाइ छ ।

यस वर्षको मनसुनका समयमा हुने विपद् जोखिमको प्रभावकारी प्रतिकार्यका लागि सबै सुरक्षा निकाय अन्तर्गत खोज र उद्धार जनशक्ति तयारी अवस्थामा राखिएको प्राधिकरणले जनाएको छ । विभिन्न निकाय अन्तर्गत रहेका विपद्का समयमा उद्धार तथा राहतसँग सम्बन्धित स्रोत साधन तथा आवश्यक यन्त्र, उपकरण सातवटै प्रदेशमा तयारी अवस्थामा राखिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर