प्रधानमन्त्री प्रचण्डले वर्षौंको विकृति हटाउन जनता र संसदको सहयोग मागे

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुद्धीकरणको क्रम अहिले नै नरोकिने स्पष्ट पारेको छन् । प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा बजेटबारे जवाफ दिँदै प्रधानमन्त्रीले विकृतिविरुद्धका लडाइँ अगाडि बढाइने र शुद्धीकरणको क्रम अहिले नै नरोकिने स्पष्ट पारे ।
प्रधानमन्त्रीले भने, ‘यो शुद्धीकरण यतिमा रोकिने छैन । यो निरन्तर अगाडि बढ्ने छ । हिजोबाट प्रधानमन्त्री निवासमै निल्न खोज्ने ललिता निवास काण्डका अभियुक्तहरू पक्राउ पर्न थालेका छन् । मिटरब्याजी र ठगहरूमाथिको कारबाही सुरु भइसकेको छ । वर्षौँदेखि विकृतिको डङ्गुर सफा गर्ने सुशासनको यो लडाइँमा मलाई सदन र जनताको समर्थनको आवश्यकता छ ।’

उच्च पदस्थ र देशको एउटा वर्ग कानुनभन्दा माथि छ भन्ने निराशावादी मान्यता गलत प्रमाणित हुँदै गएको बताउँदै उनले भने, ‘हाइ प्रोफाइल व्यक्तिहरू कानुनभन्दा माथि छन् भन्ने आम मनोविज्ञान बनिरहेको थियो । त्यसले जनतामा ठूलो आक्रोश थियो । नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले गरेको इतिहासकै ठूलो अनुसन्धान र कारबाहीपछि जनतामा विश्वास जागेको छ ।’

‘यसबीच सरकारको सबैभन्दा ठूलो उपलब्धि व्यवस्थाप्रति जनतामा जगाएको भरोसामा मानेको छु । मैले नेतृत्व लिँदै गर्दा जनतामा राज्य र सरकारप्रति जुन निराशा, असन्तोष र आवेग थियो अहिले त्यसमा सुधार भएको छ । यो नै सबैभन्दा ठूलो उपलब्धि मानेको छु’, उनले भने ।

नेपाल विद्युत् प्राधिकरण, नेपाल आयल निगम नाफामा गएका र नेपाल वायुसेवा निगमको आर्थिक अवस्था सुधारोन्मुख रहेको उनको दाबी छ । शैक्षिक सत्र शुरु हुनुभन्दा पहिले नै पाठ्यपुस्तक पुर्‍याउन सकेको समेत उनले बताए । यसका साथै उनले विदेशी भूमिमा समस्यामा परेकाहरूको पनि उद्धार गरिरहेको उनले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर