स्वर्णिम वाग्लेको एसएमएस क्षेप्यास्त्रले कांग्रेस रन्थनायो

काठमाडौं । नेपाली कांग्रेसका थिंक ट्यांक मानिएका डा. स्वर्णिम वाग्लेले आफू कांग्रेसमा नरहेको सन्देश प्रवाह गरेपछि कांग्रेस वृत्त तरंगित भएको छ ।

डा. वाग्लेले बिहीबार एकाएक आफू शेरबहादुर र आरजु कांग्रेसमा नरहेको महामन्त्री दुई गगन थापा र विश्वप्रकाश शर्मा तथा नेता शेखर कोइराला र योजना आयोगका पूर्वउपाध्यक्ष डा. गोविन्द कोइरालालाई एसएमएसमार्फत सन्देश पठाएका थिए ।

नेपालको पछिल्लो उपनिर्वाचन राजनीतिक विकास क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीले तनहुँ–१ बाट डा. वाग्लेलाई उम्मेदवार बनाउने प्रस्ताव गरेपछि कांग्रेस वृत्त झस्किएको हो ।

डा. वाग्लेलाई गत आम निर्वाचनमा चितवन–१बाट निर्वाचन लड्न कांग्रेस पार्टी चितवनले सिफारिस गरे पनि सभापति देउवाको जोडबलमा उनलाई टिकट दिइएको थिएन ।

डा. वाग्ले निर्वाचन लड्न भनेर नै अमेरिका हुँदै श्रीलंकाको आकर्षक रोजगार छाडेर आएका थिए । उनले गत आम निर्वाचनका लागि कांग्रेस पार्टीको घोषणा–पत्रसमेत तयार गर्न सघाएका थिए ।

डा. वाग्ले कांग्रेस पार्टीबाट पृथक् भएमा ठूलो क्षति हुने कयास लगाइएको छ । त्यसो त डा. वाग्लेको रास्वपासँगको उठबस नयाँ नभएर पुरानो नै मानिन्छ ।

उनलाई गत आम निर्वाचन ताका नै रास्वपाले काठमाडौंको कुनै एक निर्वाचन क्षेत्रबाट चुनाव लड्न प्रस्ताव गरेको थियो । यो कुरालाई डा. वाग्लेले नैतिकताका कारण आफूले उक्त प्रस्ताव अस्वीकार गरेको बताइसकेका छन् ।

डा. वाग्लेको एसएमएस क्षेप्यास्त्रले रन्थनाएका कांग्रेसी नेताहरू उनको खोजीमा रहेका छन् । डा. वाग्ले विगतमा कांग्रेसको सिफारिसमा छोटो अवधिका लागि राष्ट्रिय योजना आयोगको उपाध्यक्षसमेत भइसकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर