पशुपतिनाथको जलहरीको खुद तौल कति हो ? भन्नेमा भ्रम उत्पन्न

काठमाडौं । पशुपतिनाथको मूल शिवलिंगमा राखिएको जलहरीको तौल मुचुल्का र परीक्षणमा फरक–फरक पाइएकाले भ्रम उत्पन्न भएको छ ।
करिब साढे दुई वर्षअघि उठाइएको मुचुल्कामा ९६ केजी ८२२ ग्रामको जलहरी बनाइएको र बाँकी सुनका टुक्राबाट रिङ बनाएर त्यसमा लगाइएको उल्लेख छ भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार गरेको परीक्षणमा जलहरीको तौल १०७ केजी ४६८ ग्राम पाइएको छ । पशुपति क्षेत्र विकास कोषले भने १०७ केजी ९२४.७५ ग्रामको जलहरी राख्ने निर्णय गरेको थियो ।

नेपाल राष्ट्र बैंकबाट ८० करोड ११ हजार रुपैयाँमा १०३ केजी ७७३ ग्राम सुन खरिद गरेर अपारदर्शी रूपमा जलहरी तयार पारिएको भन्दै कोषका तत्कालीन पदाधिकारीविरुद्ध २०७८ मै अख्तियारमा उजुरी परेको थियो । जलहरी राख्नुअघि तयार गरिएको मुचुल्काको विवरणमा शंकास्पद रूपमा केरमेट र अंक घटबढ गरिएको देखिन्छ । जलहरी राख्दा उपस्थिति जनाइएका केही व्यक्तिको मुचुल्कामा हस्ताक्षर पनि छैन ।

महालेखा परीक्षकको कार्यालयले पनि जलहरी निर्माणका विषयमा प्रश्न उठाएको थियो । महालेखाको प्रतिवेदनमा राष्ट्र बैंकबाट किनिएको १०३ केजी ७७३ ग्राम सुनमा २ केजी ८९० ग्राम तामा, १ केजी २४९ ग्राम चाँदी, १२.७५ ग्राम जिंकसहित राखेर १०७ केजी ९२४.७५ ग्रामको जलहरी बनाइएको भनिए पनि त्यसको रिङमा प्रयोग गरिएको सुनको परिमाण पुष्टि हुन सकेको छैन ।

अख्तियारले उजुरीमाथि प्रारम्भिक छानबिन गरेर कोषका पूर्व तथा बहालवाला पदाधिकारीरकर्मचारी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अधिकारी र कालिगडसँग बयान लिएको थियो । त्यसपछि थप अनुसन्धान अघि बढेको थिएन । सुरुमा राखिएको सुनको परिमाण कति भन्ने पहिल्याउन पनि अख्तियारले चासो दिएको थिएन । जलहरी निकालेर वा त्यहीं परीक्षण गर्ने भन्नेमा ‘प्राविधिक’ कठिनाइ देखाएर अख्तियार मौन बस्यो ।

जलहरी प्रकरणबारे संसद्मा समेत आवाज उठेपछि मात्र अख्तियारले जलहरी निकालेर नापजाँच गरेको हो । हालै सम्पन्न नापजाँच र तौलसम्बन्धी ताजा विररण भने अख्तियार सार्वजनिक गरेको छैन । अख्तियार अनुसन्धान जारी रहेको र अध्ययन, अनुसन्धान सकिएपछि प्रतिवेदन तयार गरिने र त्यही प्रतिवेदन सार्वजनिक गर्ने जनाउँदै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर