जीवनजल र सिटामोलको भाउ बढाउन औषधी उद्योगीहरूको माग

काठमाडौं । नेपाल औषधी उत्पादन सङ्घले सिटामोल र जीवनजल (ओआरएस) अहिलेको मूल्यमा उत्पादन गर्न नसकिने भन्दै मूल्य समायोजनको माग गरेको छ ।
लामो समयदेखि प्रति प्याकेट जीवनजलको उत्पादन गर्दा न्यूनतम लागत मूल्य १७ रुपैयाँ पर्छ तर बजार मूल्य प्रति प्याकेट सात रुपैयाँ नोक्सान बेहोरेर १० रुपैयाँमा कति दिन बिक्री गर्न सकिन्छ ? औषधी उद्योगीहरूले प्रश्न गरेका छन् । नेपाल औषधी उत्पादक सङ्घका महासचिव विप्लव अधिकारीले जीवनजल उत्पादनको परिणाम धेरै घटेको दाबी गरे ।

उनका अनुसार अधिकांश उद्योगीले जीवनजल र सिटामोल उत्पादन परिणाम घटाउँदै आएका छन् । औषधीजस्तो संवेदनशील वस्तु सिटामोल र जीवनजल थोरै थोरै त हाम्रो पनि दायित्व भएकाले नोक्सान भएर पनि उत्पादन गर्दै आएको बताउँदै सङ्घका महासचिव अधिकारीले भने, “तर ठुलो परिणाममा उत्पादन गर्न सक्ने अवस्था छैन किनकि प्रति प्याकेट उत्पादनमै सातदेखि नौ रुपैयाँ नोक्सान छ ।”

सरकारको स्वामित्वमा रहेको नेपाल औषधी उत्पादन लिमिटेडबाहेक निजीस्तरबाट सञ्चालित २१ औषधी उद्योगले सिटामोल र जीवनजल उत्पादन गर्दै आएका छन् । अहिले सामान्य अवस्थामा ठुलो अभाव नदेखिए पनि महामारी हुने बित्तिकै यसको असर ठुलो पर्ने उद्योगी बताउँछन् ।

औषधी व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले मूल्यको विषयमा लिएर औषधी जस्तो संवेदनशील अत्यावश्यकीय वस्तु उत्पादन गर्न नसक्ने भन्ने कुरा व्यावहारिक नभएको प्रतिक्रिया दिए ।

औषधी उत्पादकको मागबमोजिम सिटामोल र जीवनजलको मूल्य समायोजन गर्नेबारे सरकार सकारात्मक नै रहेको उनले बताए । “उपयुक्त समयमा वैज्ञानिक तथ्य, अन्तर्राष्ट्रिय कच्चा पदार्थको मूल्यवृद्धि भएको अवस्थालाई ध्यान दिँदै मूल्य समायोजन गर्नुपर्छ भन्ने पक्षमा विभाग रहेको छ,” उनले भने । विभागका अनुसार औषधी उत्पादक उद्योगीलाई अति आवश्यकीय औषधी बजारमा अभाव हुन नदिई वितरण र उत्पादनको सन्तुलन मिलाउन विभागले निर्देशन दिँदै आएको छ ।औषधी व्यवस्था विभाग, औषधी उत्पादक सङ्घ र नेपाल औषधी व्यवसायी सङ्घको सहमतिमा जीवनजलको मूल्य प्रतिप्याकेट १० रुपैयाँ तोकिएको थियो ।

अति आवश्यक औषधीको विवरण पेस गर्न निर्देशन

औषधी व्यवस्था विभागले विभागले अति आवश्यकीय औषधी मौज्दातको विवरण पेस गर्न उत्पादक, आयातकर्ता, सरकारी, सामुदायिक तथा निजी अस्पताललाई निर्देशन दिएको छ । बिरामीका उपचारका क्रममा आवश्यक पर्ने कतिपय जीवन रक्षक अति आवश्यकीय औषधी बजारमा उपलब्ध नभएको गुनासो आएको भन्दै विभागले व्यवस्थापन गर्न निर्देशन दिएको छ । “के कस्ता प्रकारका औषधी कुन कुन रोगको उपचारमा अभाव भएको छ, सोको जानकारी गराउनुहुनका साथै त्यस्ता औषधीको व्यवस्थापनका लागि सम्भावित अभावको पूर्वजानकारीसमेत यथाशीघ्र उपलब्ध गराउनुस्,” विभागले जारी गरेको सूचनामा भनिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर